मुस्ताङ, ५ वैशाखः यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो ।

जोमसोम हुँदै कागबेनी-कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ । यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।

कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिनुभयो । परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उहाँले बताउनुभयो ।

निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताउनुभयो । उहाँका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् ।

करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पु¥याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिनुभयो । भगवान्को शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उहाँले उल्लेख गर्नुभयो ।

यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिनुभयो । एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार गुम्बाभित्र एक दर्जन बुद्ध भगवान्का विभिन्न स्वरुपका मूर्ति प्रतिस्थापन भएका छन्

“गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ । गुफा र गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्”, स्थानीय गुरुङले भन्नुभयो, “चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ ।”

उहाँका अनुसार गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन् । यसरी गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उहाँले जानकारी दिनुभयो ।

“गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्”, स्थानीय गुरुङले भन्नुभयो । गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग पु¥याएको स्थानीय उहाँले बताउनुभयो । वर्षौं पुरानो गुम्बा र यहाँका मूर्तिहरू जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मतसम्भार गर्न सरोकार भएका निकायले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएको छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ राखिएको छ । भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ ।

व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय गुरुङले बताउनुभयो । “यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो”, उहाँले गुरुङले भन्नुुभयो, “त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ । गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।”

हालसम्म गुफा र गुम्बालाई प्रचारप्रसार नगरेकाले मुस्ताङका अधिकांश यहाँका गुम्बाबारे अनभिज्ञ रहेका स्थानीय गुरुङको भनाइ छ । कागबेनी-कोरला सडक नजिकै रहेको छुसाङस्थित अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्नसक्ने स्थानीय गुरुङले बताउनुभयो ।

गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय बताउँछन् । यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर