काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका–३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्नु भएसँगै आजदेखि प्रारम्भ भएको छ ।
वैशाख महिनाभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुने छ भने, अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य हुने पार्टी कार्यालयले जनाएको छ ।
‘रूख’को ‘जरा’ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पु¥याउने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । गत फागुन २१ को निर्वाचनपश्चात् मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवार भूमिकामा पार्टी रहेको र यस अभियानमार्फत पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा समर्पित रहेको उहाँले उल्लेख गर्नुभयो ।
संसद्मा रहेका दलहरूबीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य गर्ने तथा देशबाहिर रहेका नेपालीको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्रबमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत विषयमा पहल, संवाद र सहकार्य गर्ने अभियानको उद्देश्य रहेको छ ।
त्यस्तै, संसद्मा कांग्रेसको सहयोगी एवं खबरदारीपूर्ण भूमिका बढाउने, संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभूत मूल्यमान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य गर्ने यस अभियानको उद्देश्य रहेको प्रवक्ता चालिसेले बताउनुभयो ।
संविधानको मर्मबमोजिम सङ्घीयताको सबलीकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य गर्ने, कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरूको गतिविधि समीक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने अभियानको उद्देश्यमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन प्रभावकारी बनाउन यही अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने, समुन्नतिको प्रश्नमा दलगत आग्रहभन्दा पर समन्यायिक विकास दृष्टि राख्ने, प्रदेश र स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको प्रभावकारिता वृद्धि अभियानको उद्देश्य छ ।
त्यस्तै, नवयुवाहरूसँग अनेक तहमा संवाद, तिनको सोच र सपनाअनुरूप रूपान्तरण र गति प्रदान गर्ने, राज्य, दलहरू र निजी क्षेत्रबीच बृहत्तर सहकार्यको खोजीका साथ निजी क्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन गरिने पार्टीले जनाएको छ ।
जातीय, वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक समूबीच सद्भाव अभिवृद्धिमा भूमिका निर्वाह गर्ने, जातीय विभेद र सबै खाले विसङ्गति नियन्त्रणमा सहकार्य गर्ने, विमतिका विषयहरू न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य गर्ने, विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई ‘घर–आँगन फर्क’ आह्वान गर्ने, केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्मका समितिहरूबीच विषयगत तादाम्यता र साङ्गठनिक कार्यमा गति वृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ ।
पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समीक्षा, आवश्यक निर्णय र ‘जरा’तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी गर्ने, विशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नीतिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशील सदस्यता व्यवस्थित रूपले अद्यावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशन तयारी उत्साह र नवीन विश्वासका साथ अघि बढाउने अभियानको उद्देश्य रहेको छ ।
पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका-३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको सुरुआत गर्दै सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गर्नुभएको छ ।
“मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं”, सभापति थापाले भन्नुभयो । क्रियाशील सदस्यताका सम्पूर्ण विषयका लागि ‘डिजिटलाइज’ गरिएको जानकारी दिँदै उहाँले सदस्यता अद्यावधिकरणका काममा सम्पूर्ण साथीहरूको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गर्नुभयो । “जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला”, उहाँले भन्नुभयो ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनःर्सगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानका रूपमा घोषणा गरेको छ । सङ्गठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिनुभयो ।
यस अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न पार्टी सभापति थापाले आग्रह गर्नुभएको छ । पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस पार्टी सभापति थापाले जानकारी दिनुभयो । पार्टीले यसलाई सङ्गठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
‘एकमहिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ । कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण सङ्कलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।
कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढङ्गले लागू गर्ने, नयाँ सदस्यता ‘अनलाइन’ माध्यमबाट खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । कांग्रेसले उक्त अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न जाँदा ‘ओटिपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन सबैमा आग्रह गरेको छ ।
—
—
