दैलेख, १ वैशाख । कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूलेमा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन आज दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाटकहरू एउटै मञ्चमा प्रदर्शन गरिने जानकारी दिनुभयो ।
“हामीले यस कार्यक्रमलाई तीन विशेष सत्रमा विभाजन गरेका छौँ”, प्राज्ञ हमालले भन्नुभयो, “एउटा सत्रमा कर्णालीको लोक नृत्य र संस्कृतिको वर्तमान अवस्थाबारे गहन अन्तरक्रिया एवं गोष्ठी हुनेछ भने अर्को सत्रमा १० वटै जिल्लाका विशिष्ट लोकसङ्गीत र नृत्यका स्रष्टा एवं सर्जकहरूलाई विशेष सम्मान गरिनेछ ।” उहाँले यस पटकको सम्मेलनमा दैलेखको कला र संस्कृतिलाई विशेष महत्वका साथ प्रदर्शन गरिने स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले पालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण नौमूले बजारमा यति ठूलो प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि कुनै समस्या हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“पाहुनाहरूको खाना, बसोबास र सुरक्षाको विषयमा छलफल गर्न आजै सर्वदलीय बैठक बोलाइएको छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “व्यवस्थापनको पाटोमा हामी कतै पनि चुक्ने छैनौँ ।” उहाँका अनुसार कार्यक्रमको स्थानीय व्यवस्थापन, खाना र बसोबासको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने छ भने कलाकारहरूको यात्रा खर्च र स्रष्टा सम्मानलगायत अन्य प्राविधिक खर्च प्रज्ञा(प्रतिष्ठानले व्यहोर्ने गरी सहकार्य भएको छ ।
अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले कर्णाली कला र संस्कृतिको खानी भए पनि यसको उचित पहिचान हुन नसकेको र पुस्तान्तरणको अभावमा मौलिक प्रतिभाहरू हराउँदै जान लागेकामा चिन्ता व्यक्त गरेका छन् । प्रज्ञा(प्रतिष्ठानले नौमूले जस्तो स्थानीय तहमा पुगेर अनुसन्धान र प्रदर्शनको कार्य थाल्नुले सांस्कृतिक पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास पत्रकारहरूको थियो ।
सम्मेलनमा दैलेखका ११ वटै स्थानीय तहका सांस्कृतिक समूहहरू केन्द्रित हुने छन् भने अन्य नौ जिल्लाबाट कलाकार आफ्ना मौलिक प्रस्तुतिसहित सहभागी हुनेछन् । नेपाल सङ्गीत, नाट्य र नृत्यको क्षेत्रमा अनुसन्धान गर्ने तथा स्रष्टालाई प्रोत्साहित गर्ने प्रतिष्ठानको उद्देश्यअनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।
