बेइजिङ, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाउनुभएको छ ।

“आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ”, बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै वाङले भन्नुभयो, “सम्झौताबाट पछि हट्ने, प्रतिबद्धताहरू तोड्ने र गुटबन्दी राजनीति गर्ने प्रवृत्तिले बहुपक्षवादलाई अभूतपूर्व चुनौती दिएको छ । तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन — बहुध्रुवीय संसार निश्चित रूपमा आउँदैछ ।”

राष्ट्रपति ट्रम्पले आइतबार एसियाली भ्रमण सुरु गर्नुभएको छ । यो दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग हुने प्रत्यक्ष वार्तासँग समाप्त हुनेछ । यो वार्ता जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि दुई नेताबीच हुने पहिलो आमनेसामने भेट हो ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच दुई दिन लामो व्यापार वार्ता सम्पन्न भएको थियो । वार्तामा नोभेम्बर १ देखि लागू हुन लागेको १०० प्रतिशत अतिरिक्त कर टार्नेबारे छलफल भएको थियो ।

चीनका उप–वाणिज्य मन्त्री ली चेङ्गाङले वार्ताबाट ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिनुभएको छ । उता, अमेरिकी अर्थमन्त्री बेसेन्टले एबिसी समाचारसँग कुरा गर्दै उक्त अतिरिक्त शुल्क अस्थायी रूपमा स्थगित गरिएको र दुर्लभ पृथ्वी खनिज तथा अमेरिकी सोयाबिन निर्यातका विषयमा सहमति नजिकिएको सङ्केत गर्नुभएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर