किएभ, २८ असोज । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न वासिङ्टन जाने तयारीमा रहेको घोषणा गर्नुभएको छ । उक्त भेटवार्ताको प्रमुख उद्देश्य हवाई सुरक्षा सुदृढीकरण र रूसमाथि थप दबाब दिने रणनीतिबारे छलफल गर्नु रहेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राजनीतिज्ञहरू र कम्पनीहरूसँग पनि वार्ता गर्ने युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलमा सामेल हुने बताउनुभयो सो प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति ट्रम्पसँग भेट हुने अपेक्षा राखेको छ ।

एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्कीलाई स्वागत गर्ने योजना छ वा छैन भनेर प्रश्न गर्दा उहाँले छोटकरीमा ‘मलाई लाग्छ, हो’ भनेर जवाफ दिनुभएको थियो । ट्रम्पले उक्त प्रतिक्रिया मध्यपूर्वबाट वासिङ्टन फर्कने क्रममा गरिएको छोटो इन्धन स्टपका बेला दिनुभएको हो ।

जेलेन्स्कीले सप्ताहन्तमा राष्ट्रपति ट्रम्पसँग दुई पटक टेलिफोन वार्ता भएको पुष्टि गर्दै ती संवादहरूमा युक्रेनले सामना गरिरहेका ‘गम्भीर चुनौतीहरू’ — विशेष गरी रुसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा पारिरहेको प्रभाव र युद्धमैदानको अवस्थाबारे छलफल भएको जानकारी दिनुभयो ।

“हामीले केही संवेदनशील विषयहरूमा गहन छलफल गर्‍यौँ । वार्ता ठोस थियो, तर त्यो पर्याप्त थिएन”, जेलेन्स्कीले किएभमा युरोपेली सङ्घ ९इयु० का शीर्ष कूटनीतिज्ञ काजा कल्लासको भ्रमणको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार वासिङ्टनको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री युलिया स्विरिडेन्को, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू, राष्ट्रिय सुरक्षा परिषद्का प्रतिनिधिहरू र अन्य वरिष्ठ कूटनीतिज्ञहरू समावेश भएको प्रतिनिधिमण्डल यसअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेको छ ।

जेलेन्स्कीले वासिङ्टन पुग्नेबित्तिकै अमेरिकी सैन्य कम्पनीका प्रतिनिधिहरू, सिनेटरहरू र सांसदहरूसँग थप उच्चस्तरीय बैठकहरू गर्ने योजना बनाएको बताउनुभयो ।

“मुख्य विषयहरू हाम्रा हवाई सुरक्षाको सुदृढीकरण र रूसमाथि थप दबाब सिर्जना गर्ने सम्भावनाहरू हुन्”, उहाँले जोड दिनुभयो । एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर