बङ्गलादेश, २२ फागुन । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीका लागि जाने खाद्यान्न आगामी महिनादेखि आधा कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ ।

सन् २०१७ मा छिमेकी मुलुक म्यान्मामा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका अधिकांश शरणार्थी बङ्गलादेशको राहत शिविरमा बसिरहेका छन् ।

सहायतामा निर्भर रहेका र व्यापक कुपोषणबाट पीडित रोहिङ्ग्या समुदायका लागि लगातारको सहायता कटौतीले पहिले नै अत्यधिक कठिनाइ निम्त्याइसकेको छ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले बुधबार एक पत्र लेख्दै भनेको छ, “कोषको चरम अभावका कारण मासिक खाद्यान्न भौचरमा प्रतिव्यक्ति १२।५० डलरबाट ६।०० डलरमा कटौती गरिएको छ ।”

“दुर्भाग्यवश, हामीले अझै पनि पर्याप्त कोष प्राप्त गरेका छैनौं, र लागत र बचत नियन्त्रणका उपायहरू मात्र पर्याप्त छैनन्,” पत्रमा भनिएको छ ।

बङ्गलादेशस्थित शरणार्थी निकायका मोहम्मद शमसूद डुजाले एएफपीसँग कुरा गर्दै आफ्नो कार्यालयले अर्को हप्ता समुदायका नेताहरूसँग बैठक गर्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मुस्लिम समुदायको वार्षिक रोजाका अवसरमा रोहिङ्ग्या शरणार्थीसँग भेट्नुभन्दा केही दिनअघि ९बुधबार० पत्र आएको हो ।

सन् २०१७ मा राष्ट्रसङ्घको नरसंहार अनुसन्धानको विषय बनेको म्यान्मामा भएको दमनले करिब सात लाख ५० हजार रोहिङ्ग्यालाई हत्या, बलात्कार र आगजनीका पीडादायी कथा लिएर छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो ।

बङ्गलादेशले आफ्नो विशाल शरणार्थी जनसङ्ख्यालाई समर्थन गर्न सङ्घर्ष गरिरहेको छ र म्यान्मामा थोक फिर्ती वा अन्यत्र पुनर्वासको सम्भावना टाढा छ।

कक्स बजार वरपरका शिविरमा बस्ने रोहिङ्ग्याहरूलाई रोजगारी खोज्न अनुमति छैन र बाँच्नका लागि सीमित मानवीय सहायतामा लगभग पूर्ण रूपमा निर्भर हुनुपर्ने बाध्यता छ ।

जनवरीमा इन्डोनेसिया पुगेका २५० भन्दा बढी रोहिङ्ग्यासहित राम्रो जीवन खोज्ने प्रयासमा ठूलो संख्यामा शरणार्थीहरूले शिविरबाट टाढा पुग्न जोखिमपूर्ण समुद्र पार गर्ने प्रयास गर्ने गरेका छन् र यस्ता यात्रामा हजारौँको सङ्ख्यामा हताहत भएका छन् ।एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर