काठमाडौँ, १२ चैत । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बताएको छ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।

भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

भारतले यो कदम किन चाल्यो?

भारतभित्रै कोरोनाभाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको छ। यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखियो जसमा ४७,००० भन्दा बढी नयाँ सङ्क्रमित छन् भने २७५ को मृत्यु भएको छ।

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्।

“निर्यात रोक्ने अस्थायी उपाय हो। घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ,”

उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ।

विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीवार यता भारतले कुनै निर्यात गरेको छैन।

“बाँकी सबै कुरा कम्तीमा अहिलेका लागि रोकिएको छ,” मन्त्रालयका एक स्रोतले रोयटर्स समाचार संस्थालाई भनेका छन्। “भारतको अवस्था स्थिर नहुँदासम्म कुनै निर्यात हुँदैन।”निर्णयबारे सरकार वा एसइइका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्।-स्रोत वीवीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर