काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा उहाँहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उहाँले जानकारी दिनुभयो । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उहाँको भनाइ छ ।
“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उहाँले भन्नुभयो । आजको बैठकमा ठोस सहमति नभएकाले भोलि बिहान संसद् बैठक अघि बसेर फेरि छलफल गरिने उहाँले जानकारी दिनुभयो ।सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल शुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताउनुभयो ।