किएभ, २८ कात्तिक । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले पहिलोपटक युक्रेनलाई नेटोको सदस्यता दिलाउने बदलामा आफ्नो भू–भाग रुसलाई सुम्पिन सुझाव दिएको बताउनुभएको छ । उहाँले यसै साता भएको वार्ताका क्रममा रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्ताव अस्वीकार गरेको पनि जानकारी दिनुभयो ।

जेलेन्स्कीका अनुसार, रुसले यस जाडोयाममा युक्रेनविरुद्धको सैन्य अभियानमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ । उहाँले युरोपको सुरक्षा संरचना पुनः परिभाषित गर्ने क्रेमलिनको मागलाई ‘खतरनाक’ संज्ञा दिँदै यसले भविष्यमा थप युद्ध निम्त्याउन सक्ने चेतावनी दिनुभयो ।

डेनमार्क र आयरल्यान्डको भ्रमणपछि शुक्रबार सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले युरोपेली नेताहरूसँगको भेटवार्ताबारे जानकारी दिनुभएको थियो । त्यसअघि अबु धाबीमा अमेरिका मध्यस्थकर्ता रहेको युक्रेन र रुसबीच दुई दिनसम्म वार्ता भएको थियो ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा ठूलो युद्ध अन्त्य गर्ने उद्देश्यले आयोजित उक्त वार्ता कुनै ठोस सहमतिबिना टुङ्गिएको थियो । यद्यपि, आगामी वार्तामा युरोपेली अधिकारीहरूलाई पनि सहभागी गराउन सबै पक्ष सहमत भएका थिए ।

शनिबारसम्म सार्वजनिक नगर्ने सर्तमा राखिएको आफ्नो भनाइमा जेलेन्स्कीले भन्नुभयो, “अमेरिकीहरूले एउटा प्रश्न उठाए– यदि युक्रेन नेटोमा सामेल भयो भने के हुन्छ? के त्यसको बदलामा युक्रेन डोनबासबाट पछि हट्छ? यस्तो प्रस्ताव पहिलोपटक आएको हो ।”

उहाँका अनुसार, युक्रेनले नेटो र युरोपेली सङ्घ (ईयू) बाट ठोस सुरक्षा प्रत्याभूति प्राप्त गर्ने विषयमा पनि छलफल गरिरहेको छ ।

“यदि पश्चिमी राष्ट्रहरूले यसको प्रत्याभूति गरे भने म युक्रेनी जनतासँग उनीहरूको धारणा सोध्नेछु– के हामी यसलाई स्वीकार गर्ने कि नगर्ने? यस्तो निर्णय एक्लै लिने अधिकार मलाई छैन,” उहाँले भन्नुभयो ।

अबु धाबीमा भएको वार्तामा अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टिभ विटकफ सहभागी थिए । उनीहरूले पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

जेलेन्स्कीका अनुसार, उक्त वार्तामा रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्ताव अस्वीकार गरेको थियो ।

“ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविरामको प्रस्तावमा रुसीहरू इच्छुक छैनन्,” उहाँले भन्नुभयो ।

त्यसैगरी, कोस्त्यान्तिनिभ्का सहरमा ‘मानवीय मिसन’ पठाउने पुटिनको प्रस्ताव पनि रणनीतिक चाल मात्र भएको जेलेन्स्कीको आरोप छ । उहाँका अनुसार, यसको उद्देश्य युक्रेनी सेनालाई उक्त द्वन्द्वग्रस्त सहरबाट पछि हट्न बाध्य पार्नु र डोनेट्स्क क्षेत्रका अन्य बस्तीमा रुसको पहुँच सहज बनाउनु हो ।

रुसले यस वर्ष उक्त सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको थियो । तर, युक्रेनले त्यहाँ अझै पनि युद्ध जारी रहेको बताउँदै आएको छ ।

“पुटिन केवल हामीले कोस्त्यान्तिनिभ्का छाडेको चाहन्छन्, ताकि उनीहरू त्यहाँ प्रवेश गरेर पूरै सहर कब्जा गर्न सकून्,” जेलेन्स्कीले भन्नुभयो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता रुसी सेना पश्चिमतर्फ अघि बढिरहेको छ । तर, रुसले डोनेट्स्क क्षेत्रलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन सकेको छैन ।

जेलेन्स्कीले युरोपेली सङ्घ र नेटोलाई युरोपको ‘एकमात्र वास्तविक सुरक्षा प्रत्याभूति’ भन्दै युरोपको सुरक्षा व्यवस्था पुनः परिभाषित गर्ने मस्कोको प्रयासको आलोचना गर्नुभएको छ ।

उहाँले यस्तो प्रयासलाई खतरनाक बताउँदै यस्ता कदमले नयाँ युद्ध निम्त्याउन वा विद्यमान द्वन्द्वलाई थप चर्काउन सक्ने चेतावनी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर