अर्घाखाँची, २५ कात्तिकः राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ ।

तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ । सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो । यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ । अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ ।

प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक अर्घाखाँचीको महत्त्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा स्थापित हुँदै गएको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यस सडकको निर्माणकार्य सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले अगाडि बढाएको छ ।

गच्छेबाट सुरु भएर भालुबाङसम्म पुग्ने सडकको कुल लम्बाइ ७३ किलोमिटर छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ ।

सडक निर्माणका विभिन्न खण्डमा क्रमशः कालोपत्र, ग्राभेल तथा आवश्यक संरचना निर्माणका काम भइरहेका छन् । गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र सम्पन्न भएको थियो । चालु आर्थिक वर्षमा पनि दुईवटा खण्डमा निर्माणकार्यलाई अगाडि बढाइएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्ने काम गरिरहेको छ । उक्त खण्डमा सडक कालोपत्रसँगै आवश्यक संरचना निर्माण तथा ग्राभेलको कामसमेत भइरहेको छ । यसका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माणकार्य केही दिनमै सम्पन्न हुने कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

त्यस्तै, समपूरक आयोजनाअन्तर्गत अर्को सडकखण्डमा पनि कालोपत्रको काम अघि बढेको छ । खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा सम्झौता गरेर निर्माणकार्य सुरु गरेको हो । उक्त आयोजनाअन्तर्गत झन्डै ९.५ किलोमिटर सडक कालोपत्रसहित निर्माण भइरहेको छ ।

समपूरक आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको निर्माण व्यवसायी कविराम खनालले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि निर्माणकार्यलाई तीव्रता दिँदै चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु पाँच करोड र सङघीय सरकारबाट रु पाँच करोड गरी रु १० करोड बजेट विनियोजन भएको छ । सोही बजेटबाट झन्डै साढे नौ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्नेगरी काम भइरहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर भण्डारीले जानकारी दिनुभएको छ ।

वर्षौँदेखि प्रदेश राजधानीसँग सहज सडक सम्पर्कको प्रतीक्षामा रहेका जिल्लावासीका लागि सडक निर्माणले गति लिनु उत्साहजनक विषय बनेको छ । सडकका विभिन्न खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम अगाडि बढेसँगै आयोजना पूरा हुने अपेक्षा पनि बढेको छ ।

गच्छे–भालुबाङ सडक निर्माण सम्पन्न भए यसको लाभ अर्घाखाँचीका नागरिकले मात्र नभई छिमेकी जिल्ला गुल्मी र प्युठान र पाल्पाका बासिन्दाले समेत लिन सक्नेछन् । सन्धिखर्कलाई प्रदेश राजधानीसँग छोटो सडकमार्गबाट जोड्ने यो सडकले जिल्लाका ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

विशेषगरी नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगङ्गा नगरपालिकाका वडा नं ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं ९ र १० हुँदै यो सडक जाने भएकाले ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने भूमिकास्थान नगरपालिका १० धनचौरका स्थानीय समाजसेवी लेखनाथ पाण्डेले बताउनुभयो ।

अहिले ती क्षेत्रका नागरिकलाई सदरमुकाम, प्रदेश राजधानी तथा अन्य बजार क्षेत्रसम्म पुग्न भौगोलिक अवस्था र सडकको पहुँचका कारण विभिन्न समस्या झेल्नुपर्ने अवस्था छ । सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्याउन पनि सजिलो हुनेछ ।

ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी भालुबाङसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि सरकारी कार्यालयका काम, स्वास्थ्य उपचार, शैक्षिक गतिविधि तथा व्यापारिक प्रयोजनका लागि आवतजावत गर्ने नागरिकलाई ठूलो राहत मिल्नेछ । प्रदेश राजधानी पुग्न लाग्ने समय, इन्धन खर्च र यातायात खर्च घट्ने भएकाले यसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

गच्छे–भालुबाङ सडक निर्माणमा प्रगति भइरहे पनि सम्पूर्ण सडकलाई कालोपत्र गरी पूर्णता दिन पर्याप्त बजेटको आवश्यकता छ । हालसम्म भएका निर्माणकार्यले सडकको आधार तयार पार्ने काम गरे पनि बाँकी खण्डको स्तरोन्नति र कालोपत्रका लागि थप बजेट आवश्यक देखिएको छ ।

झन्डै रु एक अर्ब बजेट उपलब्ध हुनसके सम्पूर्ण सडक कालोपत्र गर्न सकिने अनुमान गरिएको छ । त्यसैले प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यस सडकलाई पूर्णता दिन प्रदेश र सङ्घीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

प्रदेश राजधानीसँग जोडिने सडक भएकाले यसलाई सामान्य स्थानीय सडकका रूपमा मात्र नभई प्रदेशस्तरीय महत्व बोकेको रणनीतिक सडकका रूपमा हेर्नुपर्ने जिल्लावासीको अपेक्षा छ । पर्याप्त बजेट विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा निरन्तर काम अगाडि बढाउनसके आगामी केही वर्षभित्रै सडकले पूर्णता पाउने सम्भावना छ ।

अहिले भौगोलिक रूपमा नजिक भएर पनि सडकका कारण टाढा रहेको भालुबाङलाई गच्छे–भालुबाङ सडकले अर्घाखाँचीको पहुँचमा ल्याउनेछ । यो सडकले केवल ४७ किलोमिटर दूरी घटाउनेमात्र नभई जिल्लाको आर्थिक, सामाजिक र प्रशासनिक सम्बन्धलाई प्रदेश राजधानीसँग थप मजबुत बनाउनेछ ।

अर्घाखाँचीको विकास, ग्रामीण क्षेत्रको समृद्धि र प्रदेश राजधानीसँगको सहज सम्पर्कका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना समयमै सम्पन्न हुनु आवश्यक छ । निर्माणाधीन सडकलाई पर्याप्त बजेट, प्रभावकारी अनुगमन र निरन्तर निर्माणको वातावरण बनाउनसके गच्छे–भालुबाङ सडक जिल्लाको विकासमा नयाँ कोशेढुङ्गा बन्न सक्नेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर