पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा आक्रमणकारीहरू प्रवेश गरी हमला गरेका थिए । करिब दुई लाख २० हजार जनसंख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो । त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू रहेका छन् ।

प्रहरीका अनुसार केही आक्रमणकारी अझै पनि प्रहरी परिसरको विशेष शाखा क्षेत्रमा लुकेर बसेका छन् । उनीहरूसँग सुरक्षाकर्मीको गोली हानाहान रातिदेखि नै जारी रहेको बताइएको छ । आक्रमणकारीको यकिन संख्या भने खुल्न सकेको छैन ।
पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ। तर अफगानिस्तानको तालिबान सरकारले आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ । पाकिस्तानले अफगानिस्तानको भूमिमा रहेका लडाकुहरूलाई लक्षित गरेको दाबी गर्दै हवाई हमला समेत गर्दै आएको छ । गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई हमलामा दर्जनौँ सर्वसाधारण मारिएको तालिबान सरकार र संयुक्त राष्ट्रसंघले बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर