काठमाडौं, २३ भदौ । यही भदौ १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्यसामग्री वितरण गरेको छ । नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो ।
उक्त बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्यसामग्री वितरण गरिएको जनाइएको छ ।
ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीलगायत स्वयंसेवकले वितरण गरेका थिए । उनले भने, “भोटेकोसी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”
