काठमाडौ, ३२ असार । आज नेप्से परिसूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.९२ अंकले उकालो लागेको छ। फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंकले वृद्धि भएका छन्।
बजारमा यस दिन ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ३९ हजार ५९५ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको तुलनामा बिहीबार कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो।
कारोबारका क्रममा एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढ्यो। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि १४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ८.७७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २२ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
१३ उपसमूहमध्ये ९ उपसमूह सकारात्मक रहे भने ४ उपसमूहमा गिरावट देखियो। म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले बढ्दा लघुवित्त र निर्जीवन बीमा उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। यद्यपि वित्त, होटल तथा पर्यटन, जलविद्युत तथा उत्पादन एवं प्रशोधन उपसमूहका परिसूचक सामान्य ओरालो लागेका छन्।
