ब्रसेल्स, ३० असार । युरोपेली सङ्घ (इयु) ले युक्रेनसँग सदस्यता प्रक्रियाअन्तर्गत दोस्रो वार्ता क्षेत्र औपचारिक रूपमा खुला गरेको छ । युद्धका बीच पनि इयुको सदस्य बन्ने प्रयासलाई तीव्र बनाइरहेको युक्रेनका लागि यो अर्को महत्त्वपूर्ण प्रगति मानिएको छ ।
हङ्गेरीको लामो समयदेखिको आपत्तिका कारण ढिलाइ भएको सदस्यता प्रक्रिया गत महिना पहिलो वार्ता चरण सुरु भएपछि अघि बढेको थियो । त्यसको निरन्तरतास्वरूप मङ्गलबार ब्रसेल्समा इयुका युरोप मामिला मन्त्रीहरू र युक्रेनी प्रतिनिधिबीच सुरक्षा, रक्षा तथा विदेश नीतिसम्बन्धी दोस्रो वार्ता क्षेत्रको औपचारिक सुरुआत गरिएको हो ।
इयु सदस्य बन्न इच्छुक मुलुकहरूले न्याय, कृषि, वातावरण, सुरक्षा तथा अन्य क्षेत्रसम्बन्धी युरोपेली कानून र मापदण्डसँग आफ्नो कानूनी तथा संस्थागत संरचना मिलाउनुपर्ने हुन्छ । त्यसका लागि सदस्यता प्रक्रिया छ वटा वार्ता समूहमा विभाजन गरिएको छ ।
यद्यपि दोस्रो वार्ता क्षेत्र खुला भए पनि युरोपमा ग्रीष्मकालीन बिदा सुरु हुन लागेकाले सबै छ वटा वार्ता समूह यसै सत्रमा सुरु हुने सम्भावना कम रहेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनले इयु सदस्यताका लागि आवेदन दिएको थियो । यद्यपि पूर्ण सदस्यता प्राप्त गर्न उसले अझै लामो र जटिल प्रक्रिया पूरा गर्नुपर्नेछ ।
इयुकी विस्तारसम्बन्धी आयुक्त मार्टा कोसले मङ्गलबारलाई ‘युरोपेली विस्तारका लागि सुपर मङ्गलबार’ को संज्ञा दिँदै अब भएका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
युक्रेनसँगै सदस्यताका लागि आवेदन दिएको मोल्डोभाले पनि मङ्गलबार दोस्रो वार्ता क्षेत्र खुला गरेको छ । यसैबीच, आगामी महिनामा इयुको अग्रणी उम्मेदवार बन्ने अपेक्षा गरिएको मोन्टेनेग्रोले अल्बानियासँगै सदस्यता प्रक्रियाका थप वार्ता क्षेत्रहरूमा पनि प्रगति गरेको छ । एएफपी
