सियोल, ५ असार । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रममाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू प्रभावहीन बन्दै गएको बताउँदै मस्को र प्योङयाङबीचको बढ्दो सैन्य तथा राजनीतिक निकटताले ती प्रतिबन्धको प्रभावकारिता अझ कमजोर बनाइरहेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले यो विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा छलफल भएको पनि बताउनुभएको हो ।
राष्ट्रपति लीका अनुसार उहाँले ट्रम्पलाई उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध र दबाबले अपेक्षित परिणाम दिन नसकेको स्पष्ट रूपमा जानकारी गराउनुभएको थियो । सियोलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले उत्तर कोरियाविरुद्धको वर्तमान नीतिले प्रभाव नपारेको बताउँदै रुससँगको सैन्य सहकार्यका कारण प्योङयाङ अझ बलियो भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार युक्रेन युद्धपछि रुस–उत्तर कोरिया सम्बन्ध गहिरिँदा उत्तर कोरियालाई प्राप्त हुने सीमित सहयोग पनि रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दै गएको छ ।
सन् १९५०–५३ को द्वन्द्व शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले उत्तर कोरिया र दक्षिण कोरिया प्राविधिक रूपमा युद्धको अवस्थामै रहेका छन् । दुई देशलाई विभाजन गर्ने असैन्यीकृत क्षेत्र आज पनि विश्वकै सबैभन्दा संवेदनशील सीमामध्ये एक मानिन्छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वको युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि अब प्रशासनको ध्यान उत्तर कोरियातर्फ केन्द्रित हुन सक्ने अनुमान गरिएको छ । फ्रान्स भ्रमणका क्रममा ट्रम्पले लीसँगको भेटमा ‘अब उत्तर कोरियाको विषयमा ध्यान दिने समय आएको छ’ भनेको बताइएको छ ।
ट्रम्पले यसअघि पनि उत्तर कोरियाली नेता किम जोङ–उनसँगको सम्बन्धलाई पुनः स्मरण गर्दै सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गर्नुभएको थियो । उहाँले सन् २०१८ मा सिङ्गापुरमा भएको शिखर वार्ता उल्लेख गर्दै आफू किमसँग पुनः भेटवार्ताका लागि खुला रहेको सङ्केत दिँदै आउनुभएको छ ।
यद्यपि, उत्तर कोरियाली नेता किम जोङ–उनले युक्रेन युद्धका क्रममा रुसलाई सैन्य सहयोग बढाउनुभएको छ भन्ने दाबी हाल विभिन्न पक्षबाट उठाइँदै आएको छ । चीन र रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेको बेला प्योङयाङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तर ‘अपरिवर्तनीय’ नीति भन्दै आएको छ ।
यसअघि सन् २०१९ मा हनोईमा भएको ट्रम्प–किम शिखर वार्ता आणविक निशस्त्रीकरण र प्रतिबन्ध राहतको विषयमा सहमति नजुटेपछि असफल भएको थियो । त्यसयता दुवै पक्षबीच औपचारिक प्रगति हुन सकेको छैन ।
ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गर्दै सम्बन्ध सुधारको प्रयास गर्नुभएको थियो । ती भेटमा उहाँले किमसँग ‘प्रेममा परेको’ टिप्पणीसमेत गर्नुभएको थियो । तर ती कूटनीतिक प्रयासहरू ठोस सम्झौतामा परिणत हुन सकेका छैनन् ।
हाल ट्रम्पले उत्तर कोरियालाई ‘आणविक शक्ति भएको देश’ भन्दै दशकौँदेखि कायम अमेरिकी नीतिभन्दा फरक धारणा राख्नुभएको छ र यसले भविष्यमा वासिङ्टन–प्योङयाङ सम्बन्ध फेरि सक्रिय हुन सक्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् । एएफपी
