काठमाडौँ, ३ असार : परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।
उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो । भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुबै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको मन्त्रालयद्वारा आज जारी भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
“आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको थियो । नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ,” विज्ञप्तिमा भनिएको छ, “चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहो¥याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ ।”
साथै, पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवम् संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहो¥याउँदै दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
यसैगरी, विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एवम् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको मन्त्रालयले जनाएको छ । भेटवार्तापश्चात् मन्त्री खनाल विदेशमन्त्री वाङले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।
यसअघि, सोही दिन मन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण एवम् द्विपक्षीय सहयोग विस्तार गर्ने बारेमा विचारको आदानप्रदानका साथै दलहरूबीच सम्पर्क र सहकार्य विस्तार गर्ने सम्भावना समेतका विषयमा छलफल भएको मन्त्रालयको भनाइ छ ।
भ्रमणकै दौरान मंगलबार मन्त्री खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच पनि भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल र चीनबीच रहेको सुमधुर, मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध आगामी दिनमा थप सुदृढ तुल्याउनुका साथै प्राथमिकताका क्षेत्रमा सहकार्य प्रबद्र्धन गर्ने वारेमा विचार विमर्श भएको विज्ञप्तिमा उल्लेख छ ।
सोही दिन साँझ नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ्गस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिएको लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुभएको थियो । साथै उहाँसँग चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्ताहरूको भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल लगानी बोर्डका प्रतिनिधिबाट प्रस्तुतीकरण एवम् सहभागीहरूबीच विस्तृत अन्तरक्रिया भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी आपसी आर्थिक वृद्धिका साथै समृद्धिको नयाँ अध्याय निर्माण गर्न आह्वान गर्नुभएको थियो ।
नेपालमा विद्यमान आर्थिक सम्भावना र जनसांख्यिकीय सामथ्र्यबारे प्रकाश पार्दै उहाँले लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभएको थियो । “भ्रमणको अवधिमा नेपाली राजदूतावास बेइजिङद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई उहाँले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग समेत भेटघाट र अन्तक्रिया गर्नुभएको थियो । उहाँहरूलाई सुशासन, आर्थिक विकास तथा समृद्धिलाई संस्थागत गर्ने नेपाल सरकारको प्राथमिकताका बारेमा अवगत गराउँदै मन्त्री खनालले राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभएको थियो” विज्ञप्तिमा जनाईएको छ ।
त्यसैगरी, दूतावासको कामका बारेमा जानकारी लिँदै मन्त्री खनालले त्यहाँका अधिकारीहरूलाई नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ गर्दै प्रभावकारी रूपमा आर्थिक एवम् विकास कूटनीति सञ्चालन गर्न र चीनमा रहेका नेपालीहरूको हितको रक्षा गरी प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्री खनालले भ्रमणकै दौरान दूतावासमा आयोजित नेपाली, चिनियाँ तथा अन्तरराष्ट्रिय मिडियासँगको छुट्टाछुट्टै भेटमा नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित नेपाल सरकारका प्राथमिकता तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे विचार व्यक्त गर्नुभएको थियो ।
साथै, उहाँले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गर्नुभएको मन्त्रालयले जनाएको छ । नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सांस्कृतिक धरोहर नेपाल र चीनबीच विद्यमान बहुआयामिक साँस्कृतिक र जनस्तरको सम्बन्धको प्रतीकका रूपमा रहेको छ । साथै, नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली शिल्पकर्मीहरूको अन्तरराष्ट्रिय पहिचान तथा नेपाली वास्तुकलाको उदाहरणका रूपमा समेत रहिआएको छ ।
त्यसैगरी, बेइजिङ्गस्थित ‘चाइनिज एकेडेमी अफ साइन्स’को ‘इन्स्टिच्यूट अफ टिबेटियन प्लाटो रिसर्च’ भ्रमण गरी उहाँले उक्त संस्थाका गतिविधिहरू तथा त्रिभुवन विश्वविद्यालयसहित नेपाली अन्य संस्थाहरूसँग भइरहेको सहकार्यबारे जानकारी लिनुभएको थियो । मन्त्री खनालले संस्थाका उच्च पदाधिकारीहरूसँगको अन्तरक्रियामा विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई अझ गहिरो र फलदायी बनाउनु पर्ने आवश्यकता रहेको विषयमा जोड दिनुभएको थियो ।
साथै, उहाँले बेइजिङ्गस्थित चीनको पहिलो ‘हाइ–टेक’ तथा ‘नेशनल इन्नोभेसन डेमोन्स्ट्रेसन जोन’का रूपमा रहेको झोङग्वानछुन विज्ञान पार्कको अवलोकन गरी त्यहाँको क्रियाकलाप तथा प्राथमिकताका बारेमा जानकारी हासिल गर्नुभएको थियो । भ्रमणमा त्यहाँका विदेश मन्त्री र उच्च पदाधिकारीहरूसँग भएको भेटघाट एवम् अन्य कार्यक्रमहरूमा मन्त्री खनालको सहभागिताबाट मैत्रीपूर्ण र बहुआयामिक नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याई आपसी हितका विषयमा निरन्तर सहयोग विस्तार तथा सुदृढीकरण गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको मन्त्रालयको भनाई छ ।
यसका अलावा छिमेकीलगायत सबै मुलुकसँग स्वतन्त्र, व्यावहारिक एवम् सहयोगात्मक सम्बन्ध विस्तार गर्दै आर्थिक तथा विकास कूटनीति प्रबद्र्धन गर्ने नेपाल सरकारको उद्देश्य हासिल गर्ने दिशामा यस भ्रमणले महत्वपूर्ण सहयोग पु¥याएको विश्वास लिईएको छ । भ्रमणदलमा परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावास बेइजिङ्गका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
