काठमाडौँ, २५ जेठ : मित्रराष्ट्र भारतका स्थापित कलाकार पियुष मिश्राले गीत, सङ्गीत र साहित्य साधनाका दृष्टिले नेपाल उर्वर भूमि रहेको बताउनुभएको छ ।
भारतको ग्वालियरमा जन्म भई गीत, सङ्गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका ६३ वर्षीय मिश्राले नेपालको हावा, पानी, भूगोल र संस्कृति कला, चलचित्र र साहित्य सिर्जनाका लागि अनुकूल रहेको बताउनुभयो ।
काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन नेपाल आउनुभएका बहुआयामिक प्रतिभाका धनी मिश्राले ऐतिहासक एवं सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यका कला र साहित्य सिर्जनाका लागि अनुपम स्थान रहेको धारणा व्यक्त गर्नुभयो ।
आफ्नो क्षेत्रमा समपर्ण भावका साथ क्रियाशील भई छुट्टै पहिचान बनाउन सफल मिश्राले भन्नुभयो, “कला, साहित्य र रङ्गमञ्चका क्षेत्रमा ठूलो साधना गरेर स्थापित हुन सफल भएको हुँ, यसमा मेरो भाग्य र भगवान्ले दिएको उपहारको अंश पनि होला । सङ्घर्षले दिने सफलता गौरवपूर्ण र दिगो हुन्छ । आफ्नो पेसाप्रति गौरव गर्दछु ।”
नेसनल स्कुल अफ ड्रामा (एनएसडी) बाट अभिनयसम्बन्धी शिक्षा लिनुभएका मिश्राले भन्नुभयो, “हिजो–आज अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग मिलेर स्वदेश तथा विदेशका विभिन्न सहरमा पुग्छु । यसै क्रममा काठमाडौँ आएको हुँ । आफू संलग्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सुनाउन पाउँदा खुसी छु ।”
“तपाइँ केही बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस्, आफ्नो सहजता त्याग्नोस् र उद्देश्य प्राप्तिका लागि हिँड्नुहोस्, असम्भव केही छैन । तपाईं एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उहाँले स्पष्ट गर्नुभयो ।
“मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा आफ्नो समूहसँग यहाँ आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाइरहेको छु, यो मेरो मनले चाहेको काम हो”, अभिनेता मिश्राले भन्नुभयो ।
उहाँले आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न युवाहरूलाई सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गर्नुभयो । यही जेठ २४ गते ‘केएलएफ’ महोत्सवमा सहभागी हुने क्रममा अभिनेता मिश्रा नेपाल आउनुभएको हो ।
–––
