
मस्को, ४ फागुन । रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको एक वर्षपछि उहाँका समर्थकले आइतबार मस्कोस्थित उहाँको समाधिस्थलमा भेला भई उहाँप्रति सम्मान प्रकट गर्ने भएका छन् । नाभाल्नीको स्मृतिमा गरिने कार्यक्रममा उहाँका रूसी प्रशंसकले प्रशासनबाट हुने प्रतिशोधको जोखिम मोलेर कार्यक्रम गर्ने बताएका छन्।
अकल्पनीय दमनका कारण निर्वासनमा उत्रेको रूसको विपक्षी आन्दोलन आन्तरिक कलहले ग्रस्त भएको र आफ्नो व्यक्तित्व गुमाएपछि नराम्ररी कमजोर भएको अवस्थामा उहाँको स्मरणमा मस्कोलगायत देशका अन्य शहरमा पनि कार्यक्रमहरू हुनेछन्।
विभिन्न देशहरूमा निर्वासित रूसीहरूले भ्लादिमिर पुटिनको लामो शासनकालको बिरूद्ध लडाईलाई पुनर्जीवित गर्ने प्रयास गरेका छन् ।
पुटिनका मुख्य प्रतिद्वन्द्वी नाभाल्नीलाई रूसी अधिकारीहरूले ‘अतिवादी’ घोषणा गरेका थिए, जुन फैसला सन् २०२४ १६ फेब्रुअरीमा आर्कटिकको एक दण्डात्मक उपनिवेशमा उहाँको मृत्युभए पनि लागू छ ।
रूसमा नाभाल्नी वा उहाँको भ्रष्टाचारविराधी फाउन्डेसनलाई ‘अतिवादी’ घोषणा नगरी उल्लेख गर्नेलाई जरिवाना वा पटक–पटक अपराध गरेमा चार वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ ।
नाभाल्नीका पूर्व शीर्ष सहयोगी लियोनिद भोल्कोभले टेलिग्राममा लेख्नुभएको छ, “एलेक्सीका समर्थकहरूले विश्वभरि नै स्मृति सभा गर्नेछन् ।”
उहाँले भन्नुभयो, “केही स्थानमा प्रदर्शन गरिनेछ भने कहीँ ‘नाभाल्नी’को जीवनी र योगदान समेटिएको ‘डकुमेन्ट्री’ प्रदर्शन हुनेछ भने केही स्थानमा स्मृति सभा हुनेछ ।
नाभाल्नीकी विधवा युलिया नाभाल्नायाले बर्लिनमा आयोजित एक कार्यक्रमबाट आफ्ना पतिको सम्झनाका यादगार दिनहरू समर्थकमाझ अनलाइन् प्रशारणका माध्यमबाट प्रस्तुत गर्नुहुनेछ ।
मस्कोको बोरिसोभ्स्कोइ कब्रिस्तानको उद्घाटन गर्दै भोल्कोभले लेख्नुभएको छ, “ तपाईं रूस वा विदेश जहाँसुकै हुनुहोस् तपाईले फेब्रुअरी १६ मा समान विचारधारा भएका मानिसहरूलाई भेट्नुहुनेछ र नाभाल्नीको योगदानको चर्चा गर्नुहुनेछ भन्नेमा हामी धेरै आशावादी छौँ ।”
यसैबीच, रूसी प्रशासन केन्द्र क्रेमलिन समर्थक टेलिग्राम च्यानलले आफ्ना समर्थकलाई चिहानमा नजान चेतावनी दिएका छन् ।
क्रेमलिन समर्थक पत्रकार दिमित्री स्मिरनोभ र अन्य च्यानलले शेयर गरेको एक पोस्टमा भनिएको छ, “जो त्यहाँ जाने योजना बनाइरहेका छन् हामी ती मानिसहरुलाई संक्षिप्त सल्लाह दिन्छौँ । परिणाम अनिश्चित छ, नजानुहोस् ।”
उक्त सन्देशमा चिहानको प्रवेशद्वारमा राखिएको सेक्युरिटी क्यामेरा साइनको फोटोसहित ‘बिग ब्रदर र तिनको सधैँ सतर्क आँखा’ बारे चेतावनी दिइएको छ।
पुटिनको दुई दशकभन्दा लामो शासन लम्बिने राष्ट्रपतीय निर्वाचनको एक महिनाभन्दा कम समयअघि भएको नाभाल्नीको मृत्युबारे रुसले पूर्ण व्याख्या गरेको छैन ।
आफ्नो मृत्युसम्म ४७ वर्षीय नाभाल्नीले रूसीहरूलाई क्रेमलिन नेतृत्वकोे विरोध गर्न आह्वान गर्नुभयो र मस्कोको युक्रेन आक्रमणको निन्दा गर्नुभयो ।
आफ्नो मृत्युपछि विभिन्न भाषामा प्रकाशित आफ्नो आत्मकथामा उहाँले लेख्नुभएको छ, “मैले नडराउने निर्णय गरेँ।”
रूसले नभाल्नीको एन्टी करप्सन फाउन्डेसन र नाभाल्नीले स्थापना गरेका क्षेत्रीय कार्यालयलाई ‘अतिवादी सङ्गठन’ को संज्ञा दिएको छ ।
रूसमा चरमपन्थी भनिएको समूहमा भाग लिनेलाई छ वर्षसम्म जेल सजाय हुन सक्छ र नभाल्नीको समर्थनमा अभियान चलाउने धेरैलाई जेल हालिएको छ वा निर्वासित हुन बाध्य पारिएको छ ।
समर्थकहरूले नभाल्नीको फोटो वा उहाँको नामको फोटोमा लागू गरिएको चरमपन्थी सङ्गठनको ‘प्रतीकहरू’ सार्वजनिक रूपमा प्रदर्शन गरेबापत प्रहरी हिरासत वा जेल बस्नुपर्ने र जरिवाना वा स्टन्टको जोखिम पनि उठाएका छन्।
नाभाल्नीको सामाजिक सञ्जाल च्यानलका लागि फोटो र भिडियो सामग्री तयार पारेको आरोपमा चार जना स्वतन्त्र पत्रकारमाथि ‘अतिवादी समूहमा भाग लिएको’ अभियोगमा मुद्दा चलिरहेको छ ।
गत महिना रूसले नाभाल्नीको सन्देश जेलबाट प्रवाह गरेको आरोपमा उग्रवादको आरोपमा वकालत गर्ने तीन जना वकिललाई केही वर्षको जेल सजाय सुनाएको थियो । एएफपी