श्रीलङ्का, १३ साउन । श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अधिकारीहरूले बताएका छन् ।

उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो । रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बीबीसीलाई बताएका छन् ।

रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको छ ।

हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ ।

उक्त विशाल रत्नलाई सेरन्डिपिटी सफायर नामकरण गरिएको छ ।

इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए । पछि हामीले यो विशाल वस्तु भेट्यौँ, उक्त मणिको स्वामित्व भएका गामागेले बीबीसीलाई बताउनुभयो ।

गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे । सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताउनुभएन ।

विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गर्नुभएको थियो ।

झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए ।

गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए। ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो ।

स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ ।

विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए ।

श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो ।

गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गर्‍यो ।

सयौँ सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन भेटियो
म्यान्मारका खानीमा ज्यान जोखिममा पारेर बहुमूल्य रत्नको खोजी
प्रसिद्ध रत्नविद् डा.गामिनी जोयसाले आफूले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बीबीसीलाई बताउनुभयो ।
सम्भवतः त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्छ, उहाँले भन्नुभयो ।

उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ ।

कोभिड महामारीका कारण लकडाउनले गर्दा देशको रत्न उद्योगले घाटा खेप्नुपरेको बेला उक्त बहुमूल्य रत्न फेला परेको हो ।

स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञहरूले विश्लेषण र प्रमाणित गर्न अझै बाँकी भए पनि अन्तर्राष्ट्रिय क्रेता र विज्ञको ध्यान सेरन्डिपिटी सफायरले आकृष्ट गर्ने श्रीलङ्काको रत्न उद्योगमा काम गर्ने व्यक्तिहरूको आशा छ ।

यो एउटा विशेष नीलमणि हो, सम्भवतः संसारकै सबैभन्दा ठूलो। यसको आकार र मूल्यका कारण हामीलाई लाग्यो निजी सङ्कलक वा सङ्ग्रहालयले यसमा रुचि देखाँछन्, राष्ट्रिय रत्न तथा जवाहिरात प्राधिकरणका अध्यक्ष तीलक वीरसिङ्घेले भन्नुभयो ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर