ट्यूनिशिया, ११ साउन । देशभरि हिंसात्मक प्रदर्शन चर्किएपछि ट्यूनिशियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद्‌ निलम्बन गरेका छन्।

सरकारले प्रभावकारी ढङ्गले कोभिड१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै आइतवार दशौँ हजार मानिस प्रदर्शनमा निस्केका थिए र प्रहरीसँग उनीहरूको झडप भएको थियो।

देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले टेलिभिजनमार्फत्‌ सम्बोधन गर्दै नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताउनुभएको छ ।

तर विपक्षीहरूले उनको कदमलाई कू अर्थात्‌ सत्तापलटको सङ्ज्ञा दिएका छन्।

प्रधानमन्त्री हिसेम मेशीशीलाई बर्खास्त गरिएको खबर आइतवार अबेर राति सार्वजनिक भएपछि मानिसहरू हर्षोल्लासका साथ बाहिर निस्किएका थिए।

त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी हुनुभएको थियो ।

ट्यूनिसहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्। त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।
राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिनुभएको छ ।

म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे सोच्छ र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत्‌ दिनेछन्, उहाँले भन्नुभयो ।

संसद्‌माथि सम्भावित खतरा छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ।

तर सभामुख राशिद गनुशीले ट्यूनिशियाको क्रान्ति र संविधानमाथि कू गरिएको आरोप लगाउनुभएको छ ।

दश वर्षअघि ट्यूनिशियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो। त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो।

तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएको थियो। तर त्यसो हुन नसक्दा मानिसहरू निराश देखिएका थिए ।

क्रान्तिको एक दशक बितिसक्दा ट्यूनिशिया गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने उसले अफ्रिकाकै सबैभन्दा नराम्रो कोरोनाभाइरस महामारी झेलिरहेको छ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर