काठमाडौँ, २३ असार । बलिउडमा ट्र्याजेडी किङ भनेर चिनिने अभिनेता दिलीप कुमार आज बिहान अस्पतालमा अन्तिम सास लिनुभयो।
उहा ९८ बर्षको हुनुहुन्थ्यो । बलिउडमा उहाको मृत्युको कारण शोकको लहर छ।
पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्।
सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो।
कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।
उनको जन्म सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो।
हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।
आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन्।”दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए। उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता भने छैनन्।”
दिलीप कुमारलाई आज साँझ छ बजे मुम्बईको जुहू कब्रिस्तानमा दफन गरिनेछ। दिलीप कुमारको अन्त्येष्टि मुम्बईको हिन्दुजा अस्पतालबाट उनको पाली हिलको घरमा लगिएको छ। जानकारीका अनुसार २० जनालाई मात्र अन्त्येष्टिमा भाग लिन अनुमति छ।
