काठमाडौं, १७ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ओखल मोलुङ नगरपालिका-१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने बागलुङ बडिगाड गाउँपालिका-३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् ।
पक्राउ मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
