मस्को, ५ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका नेताहरूले कजानमा सम्पन्न शिखर सम्मेलनमार्फत आपसी रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भू–राजनीतिक तनाव बढिरहेका बेला दुवै पक्षले राजनीतिक, आर्थिक तथा सुरक्षा सहकार्य विस्तार गर्दै बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा साझा धारणा प्रस्तुत गरेका हुन् ।
रुसले आयोजना गरेको उक्त शिखर सम्मेलनमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, पूर्वी टिमोर र भियतनामका प्रतिनिधिहरू सहभागी भएका थिए । बैठकमा रुस र आसियानबीच विगतदेखि विकसित हुँदै आएको रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने तथा भविष्यमा सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले रुस–आसियान साझेदारीले एसिया–प्रशान्त क्षेत्रमा स्थायित्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा सन्तुलित सुरक्षा संरचना निर्माण गर्नुका साथै पारस्परिक लाभमा आधारित सहकार्यलाई अगाडि बढाउन यस्तो सम्बन्ध अझ आवश्यक बनेको छ ।
बैठकका क्रममा विश्वव्यापी तथा क्षेत्रीय घटनाक्रमबारे विचार आदानप्रदान गरिएको थियो । साथै रुस–आसियान सम्बन्धको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी वर्षहरूमा सहकार्य विस्तार गर्ने प्राथमिक क्षेत्रबारे पनि विस्तृत छलफल भएको थियो । व्यापार, लगानी, ऊर्जा, कृषि, डिजिटल रूपान्तरण, विज्ञान तथा प्रविधि, पर्यटन र जनस्तरका सम्बन्धलाई थप प्रवद्र्धन गर्ने विषयलाई विशेष महत्त्व दिइएको थियो ।
पुटिनले हालका वर्षहरूमा रुस र आसियानबीच नयाँ सुरक्षा चुनौती तथा विभिन्न अन्तर्राष्ट्रिय खतरासम्बन्धी सहकार्य पनि बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले व्यावहारिक सहकार्यका क्षेत्रहरू विस्तार हुँदै गएको र यसले दुवै पक्षलाई दीर्घकालीन लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
शिखर सम्मेलनको अन्त्यमा जारी संयुक्त घोषणापत्रमा सहभागी राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्धता दोहो¥याएका छन् । घोषणापत्रमा अन्तर्राष्ट्रिय कानूनको सम्मान, सबै राष्ट्रको सार्वभौम समानता, आपसी लाभमा आधारित सहकार्य तथा न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणप्रति साझा समर्थन व्यक्त गरिएको छ ।
घोषणापत्रमा कजान शिखर सम्मेलनलाई रुस–आसियान सम्बन्धको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा चित्रित गरिएको छ । सहभागी राष्ट्रहरूले आगामी दिनमा पनि उच्चस्तरीय राजनीतिक सम्पर्क कायम राख्दै रणनीतिक साझेदारीलाई थप अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
शिखर सम्मेलनको अवसरमा पुटिनले आसियान सदस्य राष्ट्रका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता पनि गर्नुभयो । सम्मेलनको सह–अध्यक्षता फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले गर्नुभएको थियो । फिलिपिन्सले हाल आसियानको घुमाउरो अध्यक्षता सम्हालिरहेको छ ।
आसियानभित्रका सदस्य राष्ट्रहरूको कूटनीतिक र रणनीतिक प्राथमिकता भने एकरूप छैन । केही सदस्य राष्ट्रहरू अमेरिकासँग निकट सम्बन्धमा छन् भने अन्य देशहरूको चीन र रुससँग व्यापारिक तथा सुरक्षा सहकार्य गहिरो रहेको छ । यही विविधताबीच पनि सङ्गठनले साझा क्षेत्रीय हितका विषयमा सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।
ऊर्जा सुरक्षाको विषय पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डामध्ये एक बनेको थियो । फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामलगायतका केही आसियान सदस्य राष्ट्रहरूले रूसी कच्चा तेल आयात गरिसकेका छन् वा त्यसमा रुचि देखाएका छन् । इरानसँग सम्बन्धित युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि वैकल्पिक ऊर्जा आपूर्तिको खोजीमा रहेका यी देशहरूका लागि रुस थप महत्त्वपूर्ण साझेदारका रूपमा उभिएको देखिएको छ । एपी
