काठमाण्डौं, ४ असार  । नेपाली काँग्रेसले सरकार विरुद्धको विपक्षी गठबन्धनलाई निरन्तरता दिंदै त्यसलाई थप बलियो बनाउने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकले त्यो निर्णय गरेको हो ।

बैठक पश्चात्  काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलल  जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेछ छ :  नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने र सम्माननीय राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक निर्णयका विरुद्धमा संयुक्त रुपमा सम्मानीत सर्वोच्च अदालतमा निवेदन प्रस्तुत गर्ने सबै राजनीतिक दलहरु, राजनीतिक दलका नेताहरु र प्रतिनिधि सभाका माननीय सदस्यहरुको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गर्दछ । साथै, यो बैठक संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलहरुका बीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

काँग्रेसका अनुसार, यो सरकार देश र जनताको हितमा कुनै पनि काम गर्न असफल  भयो । जनाता निराश छन् र यो व्यवस्था नै खतरामा परेको छ । यसबारे स्पष्ट पार्दै काँग्रेसले आज पारित गरेको राजनीतिक प्रस्तावमा भनिएको  छ : के.पी. शर्मा ओली नेतृत्वको सरकार गठन भएकै दिनदेखि नेपालको संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कमजोर गर्ने काममा उद्यत रहेको सर्वविदितै छ । यो सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सर्वदा असफल रह्यो । देशमा सुशासन दिन सकेन । देश र जनताका हितमा कुनै पनि काम गर्न सरकार असफल भयो । माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तवरले विघटन गर्नु भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापित गरे पश्चात आफू अल्पमतमा परिसकेपछि असंवैधानिक र अलोकतान्त्रिक तवरले पुनः प्रतिनिधि सभा विघटन गर्नु भयो । मुलुक के.पी. शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादी सर्वसत्तावादी चरित्रबाट आजित भयो, जनतामा पूर्ण निराशाको अवस्था सृजना भयो । लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न भएको छ ।

काँग्रेसको आजको बैठकले सो पार्टीको महाधिवेशनको कार्यतालिका सामान्य फेरबदल सहित पारित गरेको छ । त्यस्तो प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।

पारित प्रस्ताव अनुसार गाउँ/नगरका वडा अधिवेशन साउन १२ गते हुने छन् भने केन्द्रिय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाण्डौमा हुनेछ । बैठक काँग्रेस कार्यालय सानेपामा बसेको थियो ।

काँग्रेसको बैठकका निर्णयहरू

असार  ४, २०७८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा हिजो असार ३ गतेदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएको पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव र आज प्रस्तुत गर्नु भएको थप प्रस्ताव बैठकले देहाय बमोजिम सर्वसम्मतिले पारित गरेको छ ।

(१) राजनीतिक प्रस्ताव
के.पी. शर्मा ओली नेतृत्वको सरकार गठन भएकै दिनदेखि नेपालको संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कमजोर गर्ने काममा उद्यत रहेको सर्वविदितै
छ । यो सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सर्वदा असफल रह्यो । देशमा सुशासन दिन सकेन । देश र जनताका हितमा कुनै पनि काम गर्न सरकार असफल भयो । माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तवरले विघटन गर्नु भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापित गरे पश्चात आफू अल्पमतमा परिसकेपछि असंवैधानिक र अलोकतान्त्रिक तवरले पुनः प्रतिनिधि सभा विघटन गर्नु भयो । मुलुक के.पी. शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादी सर्वसत्तावादी चरित्रबाट आजित भयो, जनतामा पूर्ण निराशाको अवस्था सृजना भयो । लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न भयो ।

सरकारका गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधिको सुक्ष्म मूल्याङ्कन गरी नेपाली कांग्रेसले के.पी. शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भइसकेको तथा राजनीतिक र नैतिक रुपले शासन गर्ने वैधता समेत गुमाई सकेको ठहर गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ चैत्र २० गतेको बैठकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय गरेको हो ।

सम्माननीय राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्नका लागि दावी गर्न आह्वान गरेकोमा संविधानको व्यवस्था बमोजिम राजनीतिक दलहरु, राजनीतिक दलका नेताहरुको सहमति बमोजिम नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवाले बहुमत सदस्यहरुको समर्थनमा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने प्रष्ट आधार सहित राष्ट्रपति समक्ष श्री देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दावी पेश ग¥यौं । सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले आपसी मिलेमतोमा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय नेपालको संविधानको धारा ७६ (५) विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ । सम्माननीय राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध हामी संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएका छौं ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने पुनित उद्देश्यमा राजनीतिक दलहरु, दलका नेताहरु र प्रतिनिधि सभाका सदस्यहरुको सहयोग, समर्थन र सहकार्यको पक्षमा नेपाली कांग्रेस रहेको छ । नेपालको संविधानको व्यवस्था बमोजिम १३६ जना प्रतिनिधि सभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्नका लागि पर्याप्त हुने अवस्था रहेको भएता पनि प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दावीमा प्रतिनिधि सभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षर समेत रहेको छ । हामीले संयुक्त रुपमा सम्मानीत सर्वोच्च अदालतमा प्रतिनिधि सभाका १४६ जना सदस्यहरुको उपस्थितिका साथ संयुक्त रुपमा प्रस्तुत गरेको निवेदन अदालतमा विचाराधीन रहेको छ ।

यो बैठक नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने र सम्माननीय राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक निर्णयका विरुद्धमा संयुक्त रुपमा सम्मानीत सर्वोच्च अदालतमा निवेदन प्रस्तुत गर्ने सबै राजनीतिक दलहरु, राजनीतिक दलका नेताहरु र प्रतिनिधि सभाका माननीय सदस्यहरुको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गर्दछ । साथै, यो बैठक संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलहरुका बीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

(२) नेपाली कांग्रेस १४ औं महाधिवेशनको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ—
(क) क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ असार २० गतेभित्र

(ख) क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिज्यूबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि— २०७८ असार ३० गतेभित्र
अधिवेशन ः
(क) गाउँ/नगर वडा अधिवेशन–   २०७८ श्रावण १२ गते
(ख) गाउँ/नगरपालिका  अधिवेशन– २०७८ श्रावण १६ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ श्रावण २० गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण २६ गते
(च) प्रदेश अधिवेशन– २०७८ भाद्र १ र २ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७८ भाद्र १६, १७, १८ र १९ गते, काठमाडौं

शोक प्रस्ताव
नेपाली कांग्रेस बाँकेका नेता एवं २०४८ सालको आम निर्वाचनमा बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद ६८ वर्षीय कृष्णसिंह परिवारको आज असार ४ गते; वरिष्ठ सम्पादक/लेखक एवं वीपी कोइरालाका अनन्त कृतिका रचनाकार नेपाली कांग्रेस काठमाडौंका सक्रिय व्यक्तित्व ६१ वर्षीय जीवनचन्द्र कोइरालाको वैशाख २९ गते; नेपाली कांग्रेस भोजपुरका महाधिवेशन प्रतिनिधि तथा भोजपुर क्याम्पसका सहप्राध्यापक निर्मा शेर्पाको जेठ १२ गते; पर्साका महाधिवेशन प्रतिनिधि ५४ वर्षीय भुपेन्द्र तिवारीको जेठ २३ गते; भोजपुर जिल्ला साल्पा सिलिच्छो गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस गाउँपालिका कार्यसमितिका सभापति महेश राईको धर्मपत्नी सरु गिरीको जेठ २९ गते; नेपाल शिक्षक संघ भोजपुरका जिल्ला सदस्य ज्ञानेन्द्र वानियाँ; नेपाल उद्योग वाणिज्य संघ भोजपुरका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व सागर मोक्तानको असार ४ गते; भोजपुर नगरपालिका वडा नं. ९ का नेपाली कांग्रेसका वडा सभापति वृषबहादुर तामाङको असार ३ गते; दाङका सक्रिय व्यक्तित्वहरु— धनिराम चौधरी र पूर्ण चौधरी; धनकुटाका नेता स्व. रामकृष्ण श्रेष्ठकी छोरी विजयाश्री श्रेष्ठको वैशाख २५ गते; धनकुटाका सौभाग्यदेवी श्रेष्ठको जेठ १८ गते र स्थानीय तह समन्वय विभागका सदस्य रामकृष्ण श्रेष्ठका छोरा विश्वप्रकाश श्रेष्ठको जेठ २५ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त
आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू— बलबहादुर के.सी., मानबहादुर विश्वकर्मा, एन.पी. साउद, डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, वावुराम बस्नेत, आमन्त्रित केन्द्रीय सदस्यहरु— कृष्णकिशोर घिमिरे, शम्भुलाल श्रेष्ठ र दयाराम पाण्डेले आफ्नो धारणा राख्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया

सम्बन्धित खवर