ढाका, २ फागुन । बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’ लाई मान्यता दिने जनाएको हो ।

सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । निर्वाचन आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार बिएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जितेको छ भने जमात नेतृत्वको गठबन्धनले ७७ सिटमा विजय हासिल गरेको छ । प्रारम्भिक चरणमा केही ‘विसङ्गति र मनगढन्त’ आरोप लगाउँदै आयोगसँग समाधान खोज्ने बताउनुभएका ६७ वर्षीय जमात प्रमुख शफिकुर रहमानले शनिबार भने औपचारिक रूपमा हार स्वीकार गर्नुभएको हो ।

“कुनै पनि वास्तविक लोकतान्त्रिक यात्रामा नेतृत्वको साँचो परीक्षा हामीले अभियान कसरी सञ्चालन गर्छौं भन्ने मात्र होइन, जनताको निर्णयप्रति हामीले कसरी प्रतिक्रिया जनाउँछौँ भन्ने पनि हो”, विज्ञप्तिमार्फत उहाँले भन्नुभयो, “हामी समग्र परिणामलाई मान्यता दिन्छौँ र विधिको शासनलाई सम्मान गर्दछौँ ।”

विद्रोहपछिको अन्तरिम व्यवस्थामा ‘प्रमुख सल्लाहकार’ का रूपमा नेतृत्व गर्नुभएका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले बिएनपी नेता तारिक रहमानलाई ‘उहाँको पार्टीको शानदार विजय’ का लागि बधाई दिनुभएको छ । सत्ता हस्तान्तरणको तयारी भइरहेको सन्दर्भमा उहाँले तारिक रहमानबाट देशलाई स्थिरता, समावेशीकरण र विकासतर्फ मार्गदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जमात प्रमुख रहमानले आफ्नो पार्टी संसद्मा सक्रिय रूपमा सहभागी हुने बताउँदै सशक्त तर शान्तिपूर्ण विपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “हामी सरकारलाई जवाफदेही बनाउँदै सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षका रूपमा काम गर्नेछौँ”, उहाँले उल्लेख गर्नुभयो, “सैद्धान्तिक र शान्तिपूर्ण राजनीतिप्रतिको हाम्रो प्रतिबद्धता अडिग छ ।”

उहाँले विगतका निर्वाचनको तुलनामा यसपटक इस्लामवादी दलहरूले जितेका सिटमा उल्लेखनीय वृद्धि भएको पनि औँल्याउनुभएको छ । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा दमन झेलेको उल्लेख गर्दै उहाँले आफ्नो आन्दोलन एकल चुनावमा सीमित नभएको बताउनुभयो । “हाम्रो आन्दोलन लोकतान्त्रिक संस्कृतिलाई सुदृढ पार्ने, नागरिक अधिकारको रक्षा गर्ने र न्यायपूर्ण तथा जवाफदेही राज्य निर्माण गर्ने उद्देश्यमा केन्द्रित छ”, उहाँले भन्नुभयो ।

सतहत्तर सिटसहित संसदीय उपस्थिति करिब चार गुणा बढेको दाबी गर्दै रहमानले जमात आधुनिक बङ्गलादेशी राजनीतिमा बलियो विपक्षी शक्तिका रूपमा स्थापित भएको बताउनुभएको छ । “यो अवरोध होइन, यो नयाँ आधार हो”, उहाँले निष्कर्ष दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर