महेन्द्रनगर ९धनुषा०, २ फागुनः मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु हुनेभएको छ । यहाँको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले नेपाल र भारतका लाखौँ श्रद्धालु तथा साधुसन्तहरूको सहभागितामा धार्मिक यात्रा सुरु हुन लागेको बताउनुभयो ।

सोही यात्राका लागि सोमबार धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरु प्रस्थान गर्ने जानकारी दिँदै उहाँले जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा जम्मा हुने जानकारी दिनुभयो ।

महन्थ शरणकाअनुसार फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु हुनेछ । सोमबार राति धनुषाको हुनमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरूको टोली मङ्गलबार बिहान पूजापाठ गरी भारत विहारको कल्याणेश्वर प्रस्थान गर्नेछ । यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्त नेपाल र भारतका पवित्र धार्मिक स्थलहरूमा यात्रा गर्दा पुण्य प्राप्ति र आत्मिक शान्ति हुन्छ भन्ने जनविश्वास रहेको छ ।

कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रूपमा सुरुआत हुने परम्परा रहेकोे जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो । ‘जय सियाराम, जय जय सियाराम’ उच्चारण गर्दै नेपालका ११ र भारतका चार धार्मिकस्थल गरी १५ विश्रामस्थलमा राति विश्राम गरी नेपालको १०५ र भारतको २८ गरी कुल १३३ किलोमिटर लामो पैदल धार्मिक यात्रा गरिने उहाँले जानकारी दिनुभयो ।

महन्थ वैष्णवका अनुसार सन् १८९० तिर साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो । तत्कालीन मिथिला विहारी मन्दिरका महन्थ लाढली लालजी शरण तथा जनकपुरधामस्थित रत्नसागर स्थानका महन्थ बाबा नारायण दासजीलगायतले मिलेर परिक्रमा सुरु गरेको बताइन्छ ।

विगत लामो समयदेखि हरेक वर्ष धार्मिक यात्रा हुँदै आएको छ । महन्त शरणले गत वर्ष करिब १५ लाख साधुसन्तले परिक्रमामा सहभागिता जनाएको र यस वर्ष पनि सोहीअनुसार सहभागी हुने अपेक्षा रहेको बताउनुभयो ।

“राजर्षि राजा जनकको दरबार क्षेत्र मानिएको मिथिलाञ्चल क्षेत्रको मध्य भू–भागमा रावणको अत्याचार बढेपछि राजा जनकले भगवान् शिवलाई सहयोगको गुहार गर्दा शिव भारत विहारको कलानेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरनाथ र सप्तेश्वरनाथका रूपमा दरबारको चारवटा कुनामा विराजमान भएको किंवदन्ती छ”, यसको इतिहासबारे जानकारी दिँदै उहाँले भन्नुभयो,“राजर्षि जनकको आग्रहअनुसार शिवले मध्य मिथिला दरबार क्षेत्रको सुरक्षा गरेको हुनाले सोही चार शिवालयहरूको परिक्रमा गर्ने भएकाले यसलाई मिथिला मध्यमा परिक्रमासमेत भनिएको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर