लण्डन, २९ जेठ । धनी देशहरूको समूह जी ७ का नेताहरूले कोभिड१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन् ।
कोर्न्वलमा भइरहेको जी ७ सम्मेलनको दोस्रो दिन उनीहरूले एउटा घोषणापत्र जारी गर्नेछन् जसमा उक्त उद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन् ।
खोपहरू विकास गर्न आवश्यक समयलाई १०० दिनभित्र झार्ने उनीहरूको लक्ष्य छ ।
शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गर्नुभएको थियो ।
तीन दिने सम्मेलनको आतिथ्य गरिरहनुभएको जोनसनले सन् २००८ को आर्थिक सङ्कटका गल्तीबाट सिक्दै असमानतासँग जुझ्नु महत्त्वपूर्ण रहेको बताउनुभएको थियो ।
शुक्रवारका छलफलहरूपछि नेताहरूले कोर्न्वलकै इडन प्रोजेक्ट परिसरमा महारानीसँग रात्रि भोज गरेका थिए ।
सामूहिक तस्बिर खिच्नेक्रममा महारानीले ठट्टा गरेको सुनिएको थियो के हामीहरू रमाइरहे जस्तो देखिनुपर्ने हो
त्यो सुनेर महारानी वरपर रहेका नेताहरूमा हाँसो गुञ्जियो । प्रधानमन्त्री जोनसनले भन्नुभएको थियो होू, हामी जस्ता देखिएका भएपनि रमाइरहेका छौँ ।
विश्वका उन्नत अर्थतन्त्रहरू क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, संयुक्त अधिराज्य र अमेरिकासहित युरोपेली सङ्घ ईयूका दुई शीर्ष नेताले उक्त सम्मेलनमा सहभागिता जनाइरहेका छन् ।
शनिवारको विशेष सत्रपछि नेताहरूले कर्बिस बे घोषणापत्र जारी गर्नुहुने छ ।
जसमा कोभिड१९ का कारण क्षतविक्षत भएका मानवीय र आर्थिक हानिको कुनै पुनरावृत्ति नहुने प्रयास स्वरूप योजनाहरू समेटिनेछन् ।
महामारी सुरु भएयता विश्वभर साढे १७ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित हुनुका साथै ३७ लाखभन्दा धेरैले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ ।
जी७ को घोषणापत्रमा हुने केही मुख्य बुँदा यस्ता छन्ः
खोपको विकास र अनुमति दिने समय घटाउँदै भविष्यमा देखा पर्ने कुनै रोगको पहिचान र उपचारलाई सय दिनभित्र सीमित पार्ने
विश्वव्यापी निगरानी सञ्जाल र जिनोमिक सिक्वेन्सिङ्ग क्षमतालाई थप सबल बनाउने
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई सुधार गर्दै थप बलियो बनाउन सहायता गर्ने
सम्मेलनअघि बोरिस जोनसनले भन्नुभएको थियो , साँच्चिकै कोरोनाभाइरसलाई पराजित गरेर त्यसको असरबाट बाहिर निस्कने हो भने हामीले यस्ता महामारीलाई भविष्यमा कहिल्यै दोहोरिन दिनबाट रोक्नुपर्छ। त्यसको मतलब पछिल्ला १८ महिनाबाट सिक्दै अब आउँदो समय फरक तरिकाले काम गर्नु हो ।बीबीसी
