काठमाडौँ, ६ पुस । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै भोलीदेखि आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौँमा आज पत्रकार सम्मेलन गरी ढुंगाना समूहले आन्दोलन बारेमा जानकारी दिदै वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएकोले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलन घोषणा गरेको हो ।
जेनजी ढुंगानाले सोअवसरमा सुशीला कार्की नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गर्नुभएको छ ।
‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ जेनजी ढुंगानाले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् ।आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’
