जलेश्वर, २५ जेठ । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार,पाँच जनाको अज्ञात समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।
लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरीले जनाएको छ ।
गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।
यता लुटेराले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना, मङ्गलसूत्र–६ आना, सामसुङ्ग मोबाईल थान–२ र नगद रु २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।
यसैबीच प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।