हङ्कङ, ११ मंसिर । हङ्कङमा कैयौँ अग्ला भवनहरूमा फैलिएको विनाशकारी आगलागीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ।
विगत ६० वर्ष यता यहाँ भएको आगलागीमध्ये यो नै सबभन्दा भीषण भनिएको छ। त्यहाँ २७० जनाभन्दा धेरै मानिस हराइरहेका अनि हजारौँ मानिस आश्रयस्थलमा बसिरहेको विवरण आएका छन्।
तस्बिरहरूमा कैयौँ भवन जलिरहेको अनि धुवाँको बाक्लो मुस्लो निस्किरहेको देखिन्छ। आगो लाग्न सुरु भएको घण्टौँपछि रात परेपछि समेत आगो दन्किरहेको थियो। करिब ७६० अग्निनियन्त्रकहरू खटाइएका छन्।
हालसम्म उक्त आगलागीलाई लिएर तीन जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको अनुसन्धान थालिएको छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले आगो निभाउन खटिएका एकजना अग्निनियन्त्रक सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
बुधवार स्थानीय समय दिउँसो २ बजेर ५१ मिनेट जाँदा ताइ पो इलाकास्थित वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्न सुरु भएको थियो।
वाङ्फुक कोर्टमा ८ वटा ३१,३१ तलाका अग्ला भवनहरू थिए। तीमध्ये आगलागीका कारण सातवटा भवन प्रभावित भइसकेको ताइ पो डिस्ट्रिक्ट काउन्सिलर मुइ सिउ(फुङले बीबीसी चाइनिजलाई बताए।
सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्टमन्ट थिए। तिनमा ४,६०० मानिसहरू बस्थे।
सन् १९८३ मा बनाइएका ती भवनहरूमा मर्मत चलिरहेको थियो। भवनका बाहिरपट्टि बाँसका स्काफोल्डिङ थिए अनि तिनलाई हरियो जालीले छोपिएको थियो। भिडिओ फुटेजहरूमा बाँसहरूबाट आगो चाँडो फैलिरहेको देखिन्छ।
केही सञ्चारमाध्यमहरूले त्यहाँका निवासीहरूलाई उद्धृत गर्दै जनाएअनुसार आगो लाग्नासाथ बज्नुपर्ने फायर अलार्म बजेको थिएन।
एक प्रारम्भिक अनुसन्धानमा त्यसरी द्रुत गतिमा आगो फैलिनु अस्वाभाविक भनिएको हङ्कङका सुरक्षा अधिकारीले बिहीवार बिहान बताए। झ्यालहरूमा पोलिस्टिरिनको प्रयोग – जुन निकै ज्वलनशील हुन्छ – पनि यसको कारण भएको बताइएको छ।
हङ्कङको उत्तरी भागमा रहेको ताइ पो इलाका चिनियाँ मूलभूमिको शेन्जेन सहरनजिकै पर्छ।
हङ्कङको अग्निनियन्त्रक विभागले उक्त आगलागीलाई लेभल फाइभ स्तरको भनेको छ। त्यस्तो आगो गम्भीरताको स्तरमा सबभन्दा उच्च हो।
आगो लागेको पहिलो सूचना आएको ४० मिनेटभित्र नै त्यसलाई लेभल फोर घोषणा गरिएको थियो भने साँझ ६ः३० बजेतिर उक्त स्तर झन् माथि उक्लियो।
हङ्कङमा लेभल फाइभको आगलागी योभन्दा पहिला १७ वर्षअघि भएको थियो।
भवनहरूभित्र विस्फोट भएको आवाज आएको अनि अग्ला भवनका माथिल्ला तलासम्म आगो निभाउने पाइप सहजै पुर्याउन नसकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अत्यधिक तापका कारण अग्निनियन्त्रकहरूलाई भवनमा पसेर उद्धार गर्न कठिनाइ भएको अग्निनियन्त्रक कार्यालयका उपनिर्देशक डेरेक आर्मस्ट्रङ चानले स्थानीय सञ्चारमाध्यमलाई बताए।
ूभवनबाट वस्तुहरू अनि त्यहाँ राखिएका स्काफोल्डिङ खसिरहेकाले अग्रमोर्चामा खटिएका उद्धार कर्मचारीलाई थप खतरा भइरहेको छ,ू उनले भने।
कहिलेसम्म आगो पूर्ण नियन्त्रण हुन्छ भन्न नसकिने उनले बताए।
करिब ७६७ अग्निनियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स तथा करिब ४०० प्रहरी त्यहाँ खटाइएका छन्।
प्रहरीले तीन पुरुषलाई यो घटनाको सिलसिलामा पक्राउ गरेको छ। तीमध्ये दुई जना चाहिँ एक निर्माण कम्पनीका निर्देशक हुन् भने अर्का व्यक्ति इन्जिनियरिङ कन्सल्ट्यान्ट हुन्। आगलागीको कारण अझै स्पष्ट भइसकेको छैन। बिबिसी
