देवदह (रुपन्देही), ७ मङ्सिर । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा रु एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व सङ्कलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ । चार महिनामा हामीलाई आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएका छौँ ।
चार महिनामा रु चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले रु पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार सङ्कलन गर्न सफल भएको छ । यो लक्ष्यको २७ दशमलव तीन प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
“गत आवको तुलनामा राजस्व सङ्कलन ५१ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ”, उहाँले भन्नुभयो । राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२ दशमलव छ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । “मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ”, कर अधिकृत पोख्रेलले भन्नुभयो ।
आव २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म रु तीन अर्ब ५६ करोड दुई लाख ६१ हजार सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।
