काठमाडौं, १ मंसिर । आज नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४३ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले बढेपछि समग्र नेप्सेमा सुधार देखिएको हो।
हिजोको तुलनामा कारोबार रकम ५ करोडले बढेको छ। ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको ८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको साहस उर्जाको १८ करोड ३६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड र शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ।
१३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
