२३ जेठ, काठमाडौं । नेकपा एमाले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ । उहांले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन पनि शर्त राख्नुभएको छ ।
एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आज छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाउनुभएको छ ।
राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिकरुपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताउनुभएको छ ।
आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै ओलीले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गर्नुभएको छ ।
नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गर्नुभएको हो ।