इजरायल, २२ जेठ । इजरायलको बायोमिल्क भन्ने एक स्टार्टअप कम्पनी प्रयोगशालामा महिलाको स्तनको कोशिकाहरुबाट आमाको दूध उत्पादन गर्न सफल भएको छ ।
प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूध जत्तिकै पौष्टिक तत्व पाइने कम्पनीले जनाएको छ । ।
यद्यपि प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधको बीचमा एउटा फरक चाहिँ एन्टीबडीको हुन्छ ।
सो कम्पनीका सहसस्थापक तथा प्रमुख वैज्ञानिक अधिकृत डाक्टर लिला स्ट्रिकल्याण्डले फोर्ब्स पत्रिकालाई दिएको एक अन्तर्वार्तामा आफूहरुले उत्पादन गरेको दूध आमाको दूधसँग सबैभन्दा धेरै मिल्दोजुल्दो रहेको बताउनुभएको छ ।
उहाँका अनुसार कम्पनीले उत्पादन गरेको दूधको पौष्टिक तथा बायोएक्टिभ संरचना पनि अन्य प्रडक्टहरुको भन्दा उत्कृष्ट रहेको छ ।
वरिष्ठ कोशिका जिव वैज्ञानिक डाक्टर स्ट्रिकल्याण्डले आफ्नै अनुभव पछि आमाको दुधको विकल्पमा काम गर्न सुरु गर्नुभएको थियो ।
वास्तवमा उहाँले गर्भको समयनै नपुगीकन अर्थात् प्रिमेच्योर छोरा जन्माएकी थिइन् । त्यसैले उहाँको स्तनमा दूधको उत्पादन भएन र बच्चाले दूध चुस्न पाएन । सोही कारणले गर्दा उहाँले सन् २०१३ मा एक प्रयोगशालामा स्तन कोशिकाहरु तयार गर्न सुरु गर्नुभयो ।
सन् २०१९ मा डाक्टर स्ट्रिकल्याण्डले खाद्य वैज्ञानिक मिसेल एगरसँग मिलेर एक कम्पनीको सुरुवात गर्नुभयो । उक्त कम्पनीको उद्धेश्य स्तनपानलाई समाप्त गर्नु होइन कि आफ्नो उत्पादनको सहयोगले महिलाहरुलाई स्तनपानको विकल्प उपलब्ध गराउनु हो ।
