
काठमाडौँ, १ कात्तिकः आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ ९बैरागी काइँला०लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । प्रतिष्ठानको १२५औँ बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानका सचिव प्रा डा बद्री विशाल भट्टराईले जानकारी दिनुभयो ।
लिम्बू संस्कृति, भाषा तथा लोकसाहित्यको अध्ययन, अनुसन्धान, सङ्कलन तथा सम्पादनमा समर्पित नेम्वाङका लिम्बू संस्कृति, भाषा र लोकसाहित्यसँग सम्बन्धित एक दर्जन जति पुस्तक, एउटा शब्दकोश तथा विभिन्न पत्रपत्रिकामा दर्जनौँ लेख, रचना तथा कार्यपत्र प्रकाशित छन् ।
आधा दर्जनभन्दा बढी पत्रिकाका सम्पादक रहिसक्नुभएका नेम्वाङले लिम्बू सांस्कृतिक ग्रन्थहरुलाई नेपालीमा अनुवाद पनि गर्नुभएको छ । नेपाली साहित्यको चर्चित तेस्रो आयाम आन्दोलनका तीन अभियन्तामध्ये अहिले उहाँ एक जना मात्र जीवित व्यक्तित्व हुनुहुन्छ ।
प्रतिष्ठानका सचिव भट्टराईका अनुसार यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार सहप्राध्यापक काशिनाथ तमोट ९भोजपुर, टक्सार० लाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
नेवारी संस्कृति, भाषासाहित्यका अध्येता, अनुसन्धाता तथा कोशकार तमोटका नेवारी संस्कृति, भाषा र साहित्यसँग सम्बन्धित मौलिक, सङ्कलित, तथा सम्पादित गरी दुई दर्जन जति पुस्तक र अनगिन्ती फुटकर रचना प्रकाशित छन् ।
पुरस्कारहरु आगामी मङ्सिर ९ गते विवाह पञ्चमीका दिन आबाल ब्रह्मचारी षडानन्दको १९१औँ जन्मजयन्ती कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।
भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा योगदान पु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो ।
–––