काठमाडौँ, २० जेठ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे शुरु हुनेछ । नेपालले अहिलेसम्म ताइपेईसित दुई खेल खेलेको छ । एउटामा नेपाल विजयी भएको थियो भने अर्कोमा दुवै टोलीले बराबरी खेलेका थिए । नेपाल र ताइपेईका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिनुभएको छ । फिफा बरियतामा ताइपेई १४१ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ ।

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिए पनि एसियन कपको तेस्रो चरण पुग्नका लागि भने ताइपेईसितको खेल महत्वपूर्ण रहेको छ । आजको खेल जितेमा नेपाल आफ्नो समूहको चौथो स्थानमा रहेर एसियन कपको तेस्रो चरणमा प्रवेश गर्नेछ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ ।

समूह ‘बी’मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अहिलेसम्म अङ्क बिहीन छ । समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत तथा १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ ।

इराकसित मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहनुभएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर