काठमाडै, २० जेठ । नेकपा एमालेको खनाल, नेपाल समूहका १७ वटा भ्रातृ संगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।
ती संगठनहरुले आज एक संयुक्त वक्तव्य जारी गर्दै सो चेतावनी दिएका हुन ।
वक्तव्यमा जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा पार्टी एकताको पक्षमा मत जाहेर गर्दै अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक रुपमा गरिएका सवै निर्णय खारेज हुनुपर्ने माग गरिएको छ । ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको जनाइएको छ ।
पार्टी विधान विपरितका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ, तसर्थ, व्यवस्था र संविधानको रक्षा गर्दै नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनलाई बचाउनु आजको हाम्रो प्रमुख चुनौती बनेको छ, विज्ञप्तिमा भनिएको छ । ‘