काठमाडौँ, १८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको  बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

कारबाहीमा परेका नेताहरूलाई यादव पक्षले यसअघि दुई पटक स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, ठाकुर पक्षले भने जवाफ दिएको थिएन । उल्टै ठाकुर पक्षले पनि यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

यसअघि जेठ ८  गते बसेको  कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो । यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । ठाकुर पक्ष सरकारमा जाने पक्का भइसकेको छ । प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । ‘

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफूनिकट नेतासँग छलफल गरिरहनुभएको छ ।

जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर