भादगाउँ, २६ साउनः मध्यपुर थिमि–७, नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ (भैरव नाच) आज रातिदेखि प्रदर्शन हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमिमा भैरव, महाकालीलगायत देवीदेवताका नाच प्रदर्शन गर्ने परम्पराबमोजिम यस वर्ष नगदेशमा तान्त्रिक विधिविधानयुक्त भैलः प्याखँ प्रदर्शन गर्न लागिएको हो ।

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका वाद्यवादक, एवं सहयोगीहरूसमेत गरी १०० जनाको समूह सक्रिय रूपमा सहभागी हुन्छन् ।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष श्रीष घजुले न्हापाँ (पहिलो) भैलःको भूमिका निर्वाह गर्दै हुनुहुन्छ अर्थात् भलैःका रूपमा श्रीष घजु रहेका छन् । उहाँ भैलः गुरु कृष्णभक्त घजुका छोरा हुनुहुन्छ ।

यस्तै, लिपाँ (पछिल्लो) भैलैःका रूपमा दीपेश वाडे, न्हापाँ दाँगी रोनिश साहु, लिपाँ दाँगी अपिक घजु र ज्यापुंग विराज दुगु रहेको भैलः प्याखँका गुरु रवि घजुले जानकारी दिनुभयो । प्याखँलाई रवि घजुका साथै धां गुरु भक्तबहादुर दुगु र भैलःका अर्को गुरु कृष्णभक्त घजुलगायतले प्रशिक्षण दिनुभएको छ । प्याखँको प्रशिक्षण विधिवत् रूपमा गत असार २६ गते गुरूपूर्णिमाको दिनदेखि सुरू भएको थियो ।

भैलः प्याखँको प्रशिक्षण नगदेशको पुखुसीमा गरिएको छ । प्याखँ प्रदर्शनका लागि प्रशिक्षणस्थलमा विशेष रूपमा नासःद्यो (नाट्यश्वरी)को पूजाआराधना गरी द्यो तालमा नासःद्योको साधना गर्दछन् । नासःद्योको साधनापछि सिद्धि गणेशको प्राङ्गणमा पुगेर गणेशको साधना गरी प्याखँ प्रदर्शन गरिन्छ । त्यसपछि वैशाखमा हुने बिस्काः जात्राका सिद्धि गणेशको खट नगर परिक्रमा गराउने प्रदक्षिणा मार्ग (रुट) अनुसार छ्वासः त्वागा, लाछि, लाय्कु, कुमालाछिलगायतका नगदेशको विभिन्न टोलमा भैलः प्याखँ प्रदर्शन गरिने गुरु घजुले बताउनुभयो । यो क्रम प्रत्येक दिन साँझ चार राति निरन्तर चल्दछ ।

नगदेश प्राचीन मानव बस्ती भएको क्षेत्र हो । धार्मिक ग्रन्थहरूअनुसार नगदेश बासुकी नागको बासस्थान हो । बासुकी नागको बासस्थान भएका कारण नागदेशका रूपमा रहेको यो क्षेत्र पछि नगदेशले परिचित भएको वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले बताउनुभयो ।

यस्तै पाटनको रातो मच्छिन्द्रनाथलाई आसामको कामाख्याबाट नेपाल मण्डलमा ल्याउनका लागि नगदेशमा साधना गरेको जनश्रुति रहेको भैलः गुरु राजु घजुले बताउनुभयो । यही आधारमा नगदेश प्राचीन बस्ती भएको र प्राचीनकालमा नगदेशका सुखः शान्ति र दानवी शक्तिको नाशका लागि भैलः, महाकालीलगायत देवीदेवताको नाच विकास भएको घजुले बताउनुभयो ।

गुरु घजुले भैलः प्याखँ प्रदर्शन गर्न आधिकारिक रूपमा कुनै गुठी र स्थायी रूपमा कुनै आर्थिक स्रोत नभएको बताउनुभयो । यसका लागि स्थानीय नगदेशवासी सबै एकजुट भई निकाल्ने परम्परा रहेको छ । उहाँका अनुसार प्याखँ निकाल्ने सामूहिक निर्णय भएपछि नेवारी परम्पराअनुसार ‘थ्वकी’ उठाइन्छ । थ्वकी उठाउने भनेको कुनै सामूहिक कार्य वा गुठीको भोजमा सहभागिता निश्चित गर्न घरघरबाट निश्चित परिणाममा चामल उठाउने कार्य हो । सोही अनुसार भैलः प्याखँलाई यस वर्ष एक व्यक्ति बराबर एक सय रुपैयाँ थ्वकी उठाएको घजुले जानकारी दिनुभयो । यस वर्ष थ्वकी दिनेको सङ्ख्या करिब एक हजार रहेको छ ।

प्याखँको परम्पराअनुसार थ्वकी दिने सबै प्याखँमा सहभागी भई भोज खाने गरिन्छ । चार दिन प्याखँ निकाल्न एक महिनाअघि सुरू हुने प्रशिक्षणदेखि प्याखँ सम्पन्न नभएसम्मको सम्पूर्ण खर्च थ्वकी दिनेहरूबाट दामासाहीले व्यहोर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।

यसका साथै यो वर्ष विभिन्न सङ्घसंस्था, मनकारी व्यक्तिहरूले पनि आर्थिक एवम् भौतिक सहयोग गरिरहेको घजुले बताउनुभयो । सोही अनुसार नगदेश सांस्कृतिक पुचः दुईवटा, न्हुछे झो भजन खलःले दुई वटा, कुम्हालाछी बासुरी खलःले एक वटा र न्हापाङ्गु बासुरी खलःले एक वटा धा बाजा सहयोग गरेको घजुले जानकारी दिनुभयो । नगदेश तान्त्रिक भैलःका लागि नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने अपेक्षा रहेको घजुले बताउनुभयो ।

नगरपालिकाले नगरभित्र प्रदर्शन गरिने ऐतिहासिक, धार्मिक महत्वका विभिन्न देवीदेवताका प्याखँहरू मात्र होइन जात्रा पर्वहरूको संरक्षण गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजान उद्देश्यका साथ आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सोही अनुसार नगरपालिकाले १२ वर्षपछि नगदेशमा प्रदर्शनमा आएको तान्त्रिक भैलः प्याखँलाई नगरकार्यपालिका बैठकबाट उचित आर्थिक सहयोग हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर