काठमाडौँ, १० असार :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानले “सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमति जनाएको” दाबी गरेका छन्।
उनले अबको केही घण्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन्।
इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।
डोनल्ड ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कारबाहीहरूलाई “अन्त्य गर्ने” काम थालेपछि “अबको लगभग छ घण्टापछि” त्यो लागु हुने बताएका थिए। ट्रम्पको घोषणामा सैन्य गतिविधिहरूका बारेमा समयबद्ध विवरणहरू भएता पनि त्यसमा युद्ध औपचारिक रूपमा अन्त्य हुने कुरा समावेश छ।
अमेरिकी राष्ट्रपतिले इजरेल इरान द्वन्द्वलाई “१२ दिनको युद्ध” पनि भने। उनले आफ्नो सन्देशमा “यो युद्ध वर्षौँसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने खालको भएपनि त्यसो नभएको र अब कहिल्यै त्यस्तो नहुने” दाबी पनि गरेका छन्।
त्यसअघि इरानले कतारस्थित संयुक्त राज्य अमेरकाको हवाई सैन्य अखडामा क्षेप्यास्त्र हमला गरेको थियो, जसलाई इरानले शनिवार आफ्नो परमाणु केन्द्रहरूमा भएका हमलाको जवाफ भनेको छ।
ट्रम्पले त्यस्तो हमलामा अमेरिकी वा कतारी कोही पनि हताहत नभएको भन्दै इरानको हमला “एकदमै कमजोर” रहेको बताएका थिए र उनले “हमलाबारे पहिले नै जानकारी दिएकामा” इरानलाई धन्यवाद पनि दिए।–bbc
