
काठमाडौँ, १८ वैशाखः मानिसको जीवनमा मोबाइल अभिन्न हिस्सा बनिसकेको छ । एक समय थियो जब मोबाइल केवल सम्पर्कको माध्यम थियो, तर आज त्यो जीवनशैली निर्धारण गर्ने शक्तिमा परिणत भएको छ । डिजिटल कुलतको लतमा बालबालिका पनि परिरहेका छन् ।
खाना खानुभन्दा पहिले मोबाइल चलाउनु, अनलाइन गेम र युट्युबमा श्रव्यदृश्य हेर्नु बालबालिकाका लागि सामान्य भइसकेको छ । यी र यस्तै विषयलाई समेटेर निर्देशक यादव भट्टराईले चलचित्र ‘झिल्को’ तयार गर्नुभएको छ । चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । टेली शृङ्खला हुँदै चलचित्रमा अभिनय गर्न थाल्नुभएका अभिनेता पोखरेलले चलचित्र गरेर आफूले नयाँ विषयमा ज्ञान पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेष गरी बालबालिकालाई बचाउनु जरुरी छ ।”
चलचित्रमा अभिनय गर्ने तय भएपछि उहाँ आफैँले सामाजिक सञ्जालमा उपस्थिति कम गर्न थाल्नुभयो । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाल्नुभयो । यसले विस्तारै आएको परिवर्तनलाई उहाँले महसुस गर्नुभएको छ ।
“अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहान मात्र खुल्छ । मैले सुरुआती समयमा बच्चालाई मनाउन कठिनाईको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो”, अभिनेता पोखरेलले भन्नुभयो ।
उहाँले चलचित्रमा वास्तविक जीवनसँग नजिक रहेको पात्रलाई निर्वाह गर्नुभएको छ । पिताको पात्रमा अभिनय गर्दा उहाँले आफ्नै अनुभवलाई प्रयोग गर्नुभयो । त्यसकारण पनि पात्र जीवन्त देखिएको उहाँको बुझाइ छ । “म आफू पिता पनि भएकाले मैले त्यो भावनालाई पर्दामा ल्याउन सकेको छु जस्तो लागेको छ । यो चलचित्र अभिभावक र बच्चाले हेर्नुपर्ने बनेको छ । किनकि यसमा मनोरञ्जनसँगै हामीलाई डिजिटल कुलतले दिइरहेको समस्या र यसले बढाएको सामाजिक दुरीका विषयलाई कथानकका रुपमा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।
यो चलचित्रको विषयमा कुरा हुँदा उहाँले चलचित्रले पार्ने प्रभाव र विषयको गम्भीरतालाई बुझ्नुभएको थिएन । तर, चलचित्रसँग जोडिदै गएपछि कलाकारिता यात्रामा निकै राम्रो काम गरेको अनुभव उहाँले गरिरहनुभएको छ । “यो केवल चलचित्र मात्र होइन, यसको विषयले केही परिवारलाई डिजिटल लतबाट मुक्त गर्न सकियो भने हाम्रो अभियान सफल हुन्छ”, उहाँले भन्नुभयो ।
चलचित्र ‘झिल्को’ले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ । डिजिटल उपकरणले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको निर्देशक भट्टराईको बुझाइ छ । डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताउनुभयो ।
“आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै विस्तारै हाम्रो आत्मा डढाइरहेको छ । हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ । ‘झिल्को’ ले तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ”, उहाँले भन्नुभयो ।
मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।
–––