काठमाडौँ, १७ वैशाखः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टिकापुर घट्नाका सन्दर्भमा सर्वाेच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

  पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उहाँलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।

सोही मुद्दामा लामो समय कारागार बस्नुभएका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर