काठमाण्डौं, ७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो तर्फबाट प्रधानमन्त्री पदको लागि राष्ट्रपतिसमक्ष आज दावी-पत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न प्रतिनिधिसभाका सांसदहरूलाई आज साँझ ५ बजेसम्मको समय सीमा दिई हिजो आह्वान गर्नुभएको थियो ।
यद्यपि प्रधानमन्त्रीको पद रिक्त छैन । गत बैशाख ३१ केपी शर्मा ओली संसदमा ठूलो दलको नेताको हैसियतमा प्रम नियुक्त हुनुभएको थियो र उहाँले यो समाचार लेख्दासम्म सो पदबाट राजिनामा पनि दिनुभएको छैन । संसदले उहाँलाई विश्वास नगरेर पदमुक्त पनि गरेको छैन ।
यो अवस्थामा ओली र देउवाले प्रम पदको लागि दावी गर्नुभएको हो ।
ओलीले आफूसँग प्रतिनिधि सभाका १५३ जना सांसदको र देउवाले १४९ जना सांसदको समर्थन रहेको दावी गर्नुभएको छ ।
देउवाको दावी-पत्रमा प्रतिनिधि सभाका १४९ जना सदस्यको हस्ताक्षर नै छ भने ओलीले आफू र जसपाका महन्थ ठाकुरको मात्र हस्ताक्षर भएको पत्र पेस गर्नुभएको छ ।
तथापि राष्ट्रपतिले संविधान हेरर निर्णय लिने बताउनुभएको जानकारी प्राप्त भएको छ ।
यसैबीच ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले नेपाल/खनाल पक्षका २६ जना सांसादलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने जानकारी राष्ट्पतिलई गराउँदै तिनीहरूको हस्ताक्षर देउवाको पक्षमा गणना नगरियोस् भनी आग्रह गर्नुभएको छ ।
त्यस्तै पत्र जसपाका महन्थ ठाकुरले देउवाको समर्थन गर्ने सो पार्टीका १२ सांसदको गणना नगर्न राष्ट्पतिसमक्ष अनुरोध गर्नुभएको छ ।