काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट गर्नुभएको छ ।
उहाँले उक्त कुरा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा वताउनुभएको हो ।
पत्रकार सम्मेलनमा उहाँले ‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ ।’’ भन्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकार दिन नसक्ने, आफूलाई समर्थन पनि नगर्ने तर अहिलेको सरकारलाई ढाल्नैपर्ने भए विपक्षीलाई एकजुट भएर प्रस्तुत हुने बाटो आफूले खोलिदिएको स्पष्ट गर्नुभयो ।
उहाँले नयाँ प्रक्रियामा जानुपूर्व प्रधानमन्त्रीले राजीनामा गर्नैपर्छ भन्ने संविधानमा कतै उल्लेख नभएको जनाउँदै उहाँले अरुलाई विकल्प दिएर हात उठाउनु नै पर्याप्त भएको स्पष्ट गर्नुभयो । ‘‘म सहमतिका लागि कुरा गर्न चाहन्छु, उहाँहरु उत्तर–दक्षिण गरिरहनुभएको छ । साथीहरु मलाई लखेटिरहनुहुन्छ, अरु विकल्पमा जाऔँ, निर्वाचनतर्फ नधकेलौँ भन्छु तर विकल्प नदिने हो भने निर्वाचनमा देश गएमा आकाश खस्दैन । यो संवैधानिक प्रक्रिया हो । स्वतन्त्र निष्पक्ष निर्वाचनबाट जनताको ताजा मतादेश आउँछ । लोकतन्त्रमा निर्वाचनबाट भागेर हामी कहीँ पुग्न सक्दैनौँ । नियमितरुपमा पनि एक वर्षपछि निर्वाचन गर्नैपर्छ ।’’
प्रधानमन्त्री ओलीले एमालेभित्रैबाट अनुशासनहीनरुपमा अलोकतान्त्रिक ढङ्गले आफ्नो दलको सरकार ढाल्ने र विपक्षीको नेतृत्वमा सरकार बनाउने प्रयास भएको र आफ्नै दलको सरकारलाई विश्वास प्राप्त नहोस् भनेर आपराधिक प्रकारका काम पनि भएको टिप्पणी गर्नुभयो ।
दलहरु मिलेर नयाँ सरकार बनाउने सकेमा म स्वागत गर्छु । अरुले मलाई गरे जस्तो म सधैँको किचकिच गर्दिन, नयाँ सरकारलाई मेरो दल सहयोग गर्छ भुननुभयो ।
नयाँ सरकार बनाउन संविधानबमोजिम सरकार बनाउन समय दिँदा राष्ट्रपतिमाथि किन महाभियोग भन्ने प्रश्न गर्दै उहाँले सक्ने भए प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव ल्याउन पहिला पनि समय थियो भन्नुभयो ।
राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएको जिकिर पनि गर्नुभयो । ‘‘मैले गरेको सिफारिशप्रति म जवाफदेही छु । राष्ट्रपतिलाई दोष नदिऔँ । संंविधानको व्याख्या गर्ने सर्वोच्च अदालतले हो । मैले शपथ लिँदा प्रतिगमन हुने, कसले सपथ लिएमा क्रान्ति हुने हो ’’, पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीको जवाफ थियो ।
उहाँले असतुष्ट रहेका माधवकुमार नेपालसहितका नेताहरुको अनुशासनहीन काम रोकिने स्थिति भएमा संवादबाट व्यवस्थापन गरिनेछ, होइन भने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेभित्र भएको अन्तर्घातको पनि हिसाबकिताब गरिनेछ भन्नुभयो ।