काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भनेपछि सो रोक्ने आसयले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले उक्त प्रदर्शनलाई लक्षित गरी आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिनुभयो ।

उहाले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गरिने स्पष्ट गर्नुभयो ।

राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै राप्रपाले आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दैछ । यस अघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो ।
गृह मन्त्रालयले राप्रपाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर