
लुम्बिनी ९मर्चवार०, २ वैशाखः यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उहाँको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा हुनुहुन्छ ।
सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ । कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ ।
सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उहाँ पनि असहाय बन्नुभएको छ । उहाँले भन्नुभयो, “आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन ।”सोही वडामा नन्दलाल चौहानका पिता बुद्धु चौहानले आफ्नो पेन्सनको रु ५० हजार पनि सोही सहकारीमा राख्नुभएको थियो । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उहाँले योजना बनाउनुभएको थियो । उहाँले भन्नुभयो, “अब त्यो योजना पनि अधूरो रहने देखिन्छ ।”
छोटेलाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्तकहाँ सहयोग माग्नुभयो । तर अधिकांश आफन्तको जवाफ एउटै छ, “आफैँलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ ।”
फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक रु पाँच सयका दरले बचत गर्नुभएको थियो । अब विवाह नजिकिँदै गर्दा उहाँले राख्नुभएको पैसा पनि अनिश्चित बनेको छ । यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर अहिले रु एक लाख ५० हजार थुनिएको छ । उहाँले भन्नुभयो, “यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ ।”
यही २०८१ फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरु भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरुप, बचत फिर्ता पाउने, ऋण लिने र सावाँब्याज तिर्नेलगायत सबै सेवा ठप्प छन् ।
गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भन्नुभयो, “मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौँ बचतकर्तालाइ अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक सङ्कटमात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।”
सम्मरीमाई–६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरु भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैँका लागि हराउन सक्छ भन्नुभयो । बचतकर्ताको एउटै प्रश्न छ, “जब हामीले विश्वास गरेर बचत गरेका थियौँ, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालतसमेतले अब गम्भीरतापूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक सङ्कटमात्र होइन, सामाजिक सङ्कटको भय पनि बढ्दै जान्छ ।”
–––