दाङ ५ जेठ। दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा रही रेम्डेशिभिर बिक्री गर्न थालिएको थियो । औषधि व्यवस्था विभाग नेपालगञ्जको टोलीले घोराहीस्थित कालिका मेडिकल हलमा छापा हान्यो र रेम्डेशिभिर बिक्री वितरण गरेको पाइएपछि रोकसमेत लगायो ।
निजीस्तरबाट घोराहीमा कालिका मेडिकल हलले रेम्डेशिभिर बिक्री वितरण गर्दै आएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत सङ्क्रमितका लागि’ प्रदान गर्ने भनी गरेको परिपत्रलाई आधार बनाएर औषधि व्यवस्था विभागले निजी मेडिकललाई रेम्डेशिभिर बिक्रीमा रोक लगाएको हो ।
जिल्लामा सरकारी स्तरबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजीस्तरबाट तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलले रेम्डेशिभिर बिक्री गर्दै आएका थिए भने थोक औषधि व्यवसायी सङ्घले कालिका मेडिकलमार्फत बिक्री गर्दै आएको थियो । तर कालिका मेडिकललाई रोक लगाएपछि विवाद सिर्जना भएको हो । अहिले प्रादेशिक अस्पतालले चार हजार ९०० मा बिक्री गर्दै आएको छ जुन सरकारले तोकेको मूल्य हो । सरकारले चार हजार ९०० भन्दा बढी नलिन निर्देशन जारी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने त्यही औषधिलाई चार हजार सातसय ५० मा बिक्री गर्दै आएको छ भने थोक औषधि व्यवसायी सङ्घले चार हजार ८०० मा वितरण गर्दै आएको थियो । जुन औषधिको खरीद मूल्य चार हजार ५०० पर्छ ।
उक्त औषधि काठमाडौँबाट ल्याउनुपर्ने सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले बताउनुभयो । “हामीले काठमाडौँबाट औषधि ल्याएका छौँ, जिल्ला प्रशासन कार्यालयको अनुमतिमै औषधि ल्याएर बिक्री वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकलाई सहज औषधि आपूर्ति हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।” सकेसम्म कोरोना सङ्क्रमित भएकै अस्पतालबाट वितरण गर्दा सहज हुन्छ भनी सरकारले दिएको निर्देशनअनुसार नै आफूहरुले काम गरेको नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्ष सुलभ अधिकारीले बताउनुभयो ।
यसैबीच महामारीका बेला सहज रुपमा रेम्डेशिभिर उपलब्ध गराउन निजी क्षेत्रको पनि सहयोग चाहिने भन्दै बिक्रीमा रोक लगाउने कार्यको नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले विज्ञप्तिमार्फत आपत्ति जनाउनुभएको छ । मङ्गलबार माओवादी केन्द्र, कांग्रेस, जनमोर्चालगायत राजनीतिक दलहरूले दाङका प्रजिअमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई ध्यानाकर्षण जनाएका छन् । सोही क्रममा प्रजिअ अधिकारीले विभागले बन्द गरेको रेम्डेशिभिर बिक्रीलाई खुल्ला गर्ने बताउनुभयो । यसमा जिल्ला प्रशासन कार्यालयले कुनै अवरोध नगर्ने उहाँको भनाइ छ ।