काठमाडौँ, ५ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ ।
यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन् ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।
