काठमाण्डौं, १ जेठ । सरकारले श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलियालगायत विभिन्न एघार देशको लागि नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय  संसदीय सुनुवाइको लागि संसद सचिवालयमा हिजो शुक्रबार पठाइएको छ ।

हिजै फेरि नियुक्त हुनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार यो निर्णय एक साता अघि नै भएको थियो । संसदीय सुनुवाइको लागि भने हिजो शुक्रबार मात्र संसद् सचिवालयमा पठाइएको हो ।

सरकारको निणय अनुसार रमेशचन्द्र पौडेल (श्रीलंका), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया) र सुम्निमा तुलाधरलाई (अस्ट्रेलिया) मा  सिफारिस गरिएको छ ।

पौडेल र शर्मा राजनीतिशास्त्रका पूर्वप्राध्यापक हुनुहुन्छ भने सुम्निमा तुलाधर सिविनको कार्यकारी संयोजक हुनुहुन्छ । तुलाधर वामपन्थी नेता पद्मरत्न तुलाधरको छोरी हुनुहुन्छ ।

त्यसैगरी जंगबहादुर चौहान (रुस), नारायणप्रसाद संग्रौला (म्यान्मार) र युवराज कार्की (बहराइन)को लागि प्रस्तावित हुनुहुन्छ ।

चौहान रुसी भाषाका विज्ञ मानिनुहुन्छ । उहाँ हाल काठमाण्डौं विश्वविद्यालयमा पढाउनुहुन्छ।   राजनीतिशास्त्रका पूर्व प्राध्यापक संग्रौला पुराना वामपन्थी नेतासमेत हुनुहुन्छ भने कार्की एमाले निकट भूतपूर्व मन्त्री हुनुहुन्छ ।

त्यस्तै ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी र साउदी अरेबियामा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ ।

सरकारी  कर्मचारीमा निर्मलराज काफ्ले (अस्ट्रिया) र जीवनप्रकाश श्रेष्ठ (इजिप्ट) राजदूतको लागि सिफारिसमा पर्नुभएको छ । उहाँहरु दुबै परराष्ट्र मन्त्रलयका सहसचिव हुनुहुन्छ ।

सरकारले अस्ट्रेलियाको लागि राजदूत महेशराज दाहाललाई अचानक हालै फिर्ता बोलाएर त्यहाँको राजदूत पद खालि गराएको थियो ।

तर यता कार्यकाल  पूरा भइसकेका राजदूत प्रतिभा राणा (जापान) र शर्मिला  पराजुली ढकाल (मस्कट) लाई भने अर्को निर्णय नहुँदासम्म भनी थमौती गरिएको छ ।राणा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सासु हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर