काठमाडौँ, २१ वैशाख  । कर्णाली प्रदेश,चितवन र धनगढीमा थप दश कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ  ।

कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

उहाँका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

धनगढीको अस्पतालमा  चार संक्रमितको मृत्यु

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार संक्रमितको मृत्यु भएको हो ।अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिनुभयो ।

वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताउनुभयो ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर